हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुस महिनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिने भएको छ । गाउँपालिकाको खेलकुद विकास समितिले पुस महिनाको पहिलो सातामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने योजना बनाएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि गाउँपालिका भित्र रहेका ९ वटा विद्यालयले तयारी गरिरहेको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष बुद्धराम मोक्तानले जानकारी दिनुभएको छ । मंसीर महिनाको १० गतेबाट गाउँपालिका भित्र रहेका ५२ वटा विद्यालयले प्रतियोगितामा आफ्ना विद्यार्थीलाई सहभागी गराउनका लागि खेलाडी छनोटको तयारीलाई तिब्रता दिएको उहाँले बताउनुभयो । माध्यमिक तहका ४ वटा बाँकी आधारभूत तथा प्रावि तहका विद्यालयबाट करिब ३ सय जना विद्यार्थीको प्रतियोगितामा सहभागिता रहने उहाँले बताउनुभयो । यसअघि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ ।
प्रतियोगिता आयोजना गर्नका लागि गाउँपालिकाले २ लाख रुपैयाँ बजेट छुट्याएको उहाँले बताउनुभयो । खेलाडीहरुका लागि खाना, आवास र यातायातको पनि व्यवस्था गरिने उहाँले बताउनुभयो । प्रतियोगिता राक्सिराङ गाउँपालिका–८ स्थित सूर्योदय माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छ । पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरु जिल्ला हुँदै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् । अन्य पालिकाहरुले पनि प्रतियोगिता आयोजना गर्नका लागि तयारीलाई अगाडि बढाइरहेको छ । गएको आइतबार पालिकामा प्रतियोगिताको आयोजनाको विषयमा छलफल बैठक पनि बसेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विषयमा आगामी पुस महिनामा बैठक बसेर मिति तय गरिने बताइएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै महाचुली उपाधि विजेता बन्दा २ स्वर्ण, ४ रजत र ३ कांस्य पदकसहित वात्सलादेवी माध्यमिक विद्यालय उपविजेता बनेको थियो । यस्तै, थाहा नगरपालिकामा सम्पन्न भएको राष्ट्रिपति रनिङ शिल्डको उपाधि जनकल्याण माध्यमिक विद्यालयले २८ स्वर्ण र १० वटा रजत पदक प्राप्त गर्दै जितेको थियो भने भैरव माध्यमिक विद्यालयले ८ स्वर्ण, ५ रजत र १ कास्य पदक प्राप्त गर्दै उपविजेता बनेको थियो ।