संघीयता कार्यान्वयनमा आएपछि तीन तहका सरकारबीच एकल र साझा अधिकारको अवधारणा महत्वपूर्ण छ । तीन तहका सरकारमध्ये कतिपय काम तीनै सरकारले आआफ्नो एकल अधिकारभित्र पर्दछ भने केही अधिकार साझा दृष्टिकोणबाट उपयोग गर्नुपर्ने अवस्था रहन्छ । मुलुकको परराष्ट्र सन्दर्भमा भने संघीय सरकारको एकल अधिकारको सूचिमा रहेको छ । छिमेकी तथा तेस्रो मुलुकसँग औपचारिक, अनौपचारिक सम्बन्ध कायम गर्ने विषय संघीय सरकारको एकल अधिकारको विषय हो । अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यको विषयमा प्रदेश र स्थानीय तहले आआफ्नो ढंगले काम गर्न सक्ने अवस्था छ । यसै क्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र नेपालका लागि स्वीस सरकारका राजदूत डा. डेनियल म्युली बीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री लामा र राजदूत म्युली बीच भेटवार्ता भएको हो ।
भेटमा राजदूत म्युलीले स्वीस सरकारबाट बागमती प्रदेशमा हाल सञ्चालनमा रहेका परियोजना र संविधान कार्यान्वयन तथा सहयोगको विषयमा जानकारी गराउनुभएको थियो । स्वीस सरकारको सहयोगमा बागमती प्रदेशमा ६ वटा परियोजनाहरु कार्यान्वयनमा रहेको र थप २ वटा परियोजना सुरुवातको प्रक्रियामा रहेको बताइएको छ । भेटमा राजदूत म्युलीले प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक सीप सम्बन्धी ऐन जारी गरी प्रादेशिक तहमै रोजगारी प्रवद्र्धनका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो । प्रदेशमा स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यान्वयनमा रहेको उहाँले बताउनुभयो । स्वीस सरकारले मोटरेवल लोकल रोड एण्ड ब्रीज प्रोगामबाट सडक, पुल निर्माणमा काम गरिरहेको उहाँले बताउनुभयो । प्रदेशमा डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत साना तथा मझौला उद्यमीलाई प्रविधीमैत्री उद्यम विकासमा सहयोग गरिरहेको उहाँको भनाई छ ।
प्रदेश सरकार विकासे परियोजनामा संघीय सरकारसँगको आवश्यक सहजीकरणमा दातृ निकायसँग सहकार्य गर्ने अवसरलाई सकारात्मकरुपमा लिँदै यस किसिमको अभ्यासलाई उपलब्धीमूलक बनाउने विषयमा प्रदेश सरकारले आवश्यक तयारी गर्नु जरुरी छ । प्रदेश सरकारले दातृ निकायहरुलाई सहकार्यका लागि आव्हान गर्ने र सकारात्मक परिवर्तनको उपलब्धीमा दातृ निकायको योगदानको प्रशंसा गर्ने वातावरण बन्ने हो भने हामीले विकसित मुलुकको सीप, ज्ञान र पुँजीलाई उपयोग गर्न सक्छौं । यसले विकासशील नेपाली समाजलाई सकारात्मक सुधार गर्न सकिन्छ । कुटनीतिक सम्बन्धलाई दोहोरो लाभको अवसर सिर्जना गर्ने, साझेदार मूलुकलाई चित्त बुझ्दो व्यवहार गर्ने, आम नागरिकको जीवनस्तर परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अवस्थाका लागि बागमती प्रदेश सरकारले सक्दो प्रयत्न गर्नु आवश्यक छ ।