हेटौंडाः हेटौंडा–१० स्थित तुल्सीमेहर सेकेण्डरी स्कूलको खेलकुद सप्ताह सुरु भएको छ । मंगलबारबाट सुरु भएको खेलकुद सप्ताहको उद्घाटन बोर्डिङका कार्यबाहक प्राचार्य कमल नेपालको सभाध्यक्षमा तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको सभाध्यक्षमा भएको हो । हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पसको चौरमा सुरु भएको खेलकुद सप्ताहमा कक्षा–६ देखि कक्षा–१० सम्मका विद्यार्थीको सहभागिता रहेको छ । खेलकुद सप्ताह आउँदो शुक्रबारसम्म सञ्चालन हुनेछ ।
खेलकुद सप्ताहमा एथ्लेटिक्स, भलिबल, कबड्डी र फुटबल लगायतका खेलहरु हुनेछ । विद्यार्थीको रुचि क्षमता र खेलप्रतिको मायालाई अभिवृद्धि गर्नका लागि खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक इश्वर छत्कुलीले बताउनुभएको छ । विद्यालयका छुट्टा छुट्टै कक्षाका विद्यार्थीबीच प्रतिस्पर्धा हुने बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले प्रतियोगितामा उत्कृष्ट हुने ४ जना खेलाडीलाई सम्मान गर्ने घोषणा गर्नुभएको छ । खेलकुदको माध्यमबाट विद्यालयका विद्यार्थीले आफ्नो पहिचान बढाएको कुरालाई मध्य नजर गरेर विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्ला खेलकुद विकास समितिको मार्फतले सम्मान गर्ने घोषणा गरेको अध्यक्ष राजकुमार मोक्तानले बताउनुभयो । खेलसँगै शिक्षालाई पनि अग्रस्थानमा राखेर अगाडि बढ्न आवश्यक रहेको कुरालाई उहाँले औँल्याउनुभयो ।
बागमती प्रदेश जुडो संघका अध्यक्ष तथा जिल्ला खेलकुदका सदस्य मदन उप्रेतीले बोर्डिङमा जुडो खेलको विकास गर्ने कार्यमा लाग्ने बताउनुभयो । आफू जुडो खेलको खेलाडी भएको कारणले जिल्लामा त्यसको आकर्षण कसरी बढाउन सकिन्छ भन्ने कार्यलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । उहाँले बोर्डिङ र कलेजको प्रतिनिधित्व गरेर सबै खेलाडीलाई अनुशासनको पालना गर्दै खेल क्षेत्रमा अगाडि बढ्न आग्रह गर्नुभयो ।
शिक्षासँगै खेल र खेलसँगै शिक्षा भन्ने नारालाई सार्थक बनाएर खेलकुदलाई प्राथमिकतामा राख्ने प्रयास गरिरहेको कार्यबाहक प्राचार्य कमल नेपालले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडी क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र तथा विजेता र उपविजेता कक्षालाई ट्रफि प्रमाणपत्र प्रदान गरिने अतिरिक्त क्रियाकलाप संयोजक छत्कुलीले बताउनुभयो ।