हेटौँडाः नेपाल पत्रकार महासंघको यही मंसीर २८ गते शुक्रबार हुने निर्वाचनका लागि बागमती प्रदेश समितिको अध्यक्षमा कृष्ण सारु मगर र शिव देवकोटाको उम्मेदवारी परेको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिमा देवकोटा वर्तमान अध्यक्ष र मगर महासचिव हुनुहुन्छ । सोमबार हेटौँडास्थित नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालय परिसरमा निर्वाचन समितिले मनोनयन दर्ताको कार्य गरेको थियो ।
अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १९ पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ । मगर र देवकोटा दुबैजना प्यानलसहित उम्मेदवार बनेका छन् । मगर प्रेस सेन्टरको तर्फबाट उम्मेदवार बन्नु भएको हो भने देवकोटा प्रेस चौतारीको समर्थनमा प्रेस युनियनबाट उम्मेदवार बन्नु भएको हो । गत शनिबार संघीय समितिको उम्मेदवारी दर्ताको कार्य भएको थियो भने पर्सी बुधबार जिल्ला समितिको उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।
खुला उपाध्यक्षमा भोलाप्रकाश पौडेल र हरिप्रसाद हुमागाई, महिला उपाध्यक्षमा गीता अधिकारी र बिमला पाण्डे, महासचिवमा राजन दाहाल र राधेश्याम खतिवडा, सचिवमा शशीधर सुमन गैरे र श्यामप्रसाद खतिवडा, समावेशी सचिवमा काजी श्रेष्ठ र चन्द्रकला खत्रीको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा सन्तोष भुजेल र शंकर अधिकारीको उम्मेदवारी परेको छ ।
३ जना महिला सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा श्रीजा थापा, मीना श्रेष्ठ, रुपा अर्याल, समीक्षा पाण्डे, सुनिता रखाल मगर र सुनिता सापकोटाको उम्मेदवारी परेको छ । दलित सदस्यमा केशव नेपाली र यात्री छिदाल परियारको उम्मेदवारी परेको छ । जनजाति सदस्य २ जनाका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
जनजाति सदस्यमा उमेश राई, सूवर्णलाल श्रेष्ठ र ज्ञानेन्द्र तामाङको उम्मेदवारी परेको छ । अल्पसंख्यक सदस्यमा गौतम जिरेल र राजन थामीको उम्मेदवारी परेको छ । ५ जना खुला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा उज्ज्वल अधिकारी, केदार माझी, तारानाथ न्यौपाने, प्रज्ज्वल पौडेल, बालगोविन्द न्यौपाने, राजेन्द्र गजुरेल, वरुण लामिछाने, सन्तोष अधिकारी, सन्तोष चौलागाई र सुनिल विष्टको उम्मेदवारी परेको छ ।
यसैबीच नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत मतदानको कार्य हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टमा हुने भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाले आज निर्वाचनस्थल तय गरेको हो ।