हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकास्थित बस्तीपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह २०२४ सम्पन्न भएको छ । शनिबार मनहरी गाउँपालिकाको सभाहलमा बस्तीपुर जेसीजको जेसीज सप्ताह सम्पन्न भएको हो । बस्तीपुर जेसीज वर्ष २०२४ का अध्यक्ष अमृत पाठकको सभाध्यक्षमा तथा गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा समापन समारोह भएको हो ।
बस्तिपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह–२०२४ मा आफ्नो कार्यक्षेत्र भित्र ३ दिनमा ११ वटा विभिन्न कार्यक्रम गरेको अध्यक्ष अमृत पाठकले जानकारी दिनुभयो । पहिलो दिनमा मनहरी–१ मा स्वा. हरि बहादुर गोले स्मृतिमा बाल जीवनज्योति माध्यमिक विद्यालयमा कक्षा १२ को पुस्तक हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । यस्तै दोस्रो कार्यक्रम अन्तर्गत गाउँपालिकाको २ नम्बर वडामा स्व. जानुकादेवि बर्तौलाको स्मृतिमा सीता माध्यमिक विद्यालयको मातहतबाट चल्ने विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको अध्यक्ष पाठकले बताउनुभयो । तेस्रो कार्यक्रममा मनहरी–३ मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयमा स्व. रामकृष्ण सिटौला र शुभद्रा सिटौलाको स्मृतिमा खेलकुद सामग्री हस्तान्तरण गरेको थियो । सोही दिनको अन्तिम कार्यक्रम स्व. उदय सिंह पाठकको स्मृतिमा मनहरी–४ स्थित चेपाङ प्राथमिक विद्यालयलाई न्यानो कपडा वितरण गरिएको, दोश्रो दिन पहिलो कार्यक्रम वडा नम्बर–९ मा ट्राफिक सचेतना कार्यक्रम, वडा नम्बर–५ मा मदन आश्रित प्राथमिक विद्यालयलाई प्राथमिक स्वास्थ्य सामग्री वितरण, वडा नम्बर–८ मा प्राथमिक विद्यालयलाई देउकोटमा विद्यालयलाई रंग हस्तान्तरण गरी मनाएको छ ।
तेस्रो दिन वडा नम्बर–७ मा रहेको कभर्डहलमा बस्तिपुर जेसीज हाँडीखोलाका संस्थापक अध्यक्षको स्मृतिमा ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरिएको थियो । चौथो दिन वडा नम्बर–६ को प्राथमिक विद्यालयलाई सरसफाइ सामग्री प्रदान गरिएको थियो भने पाँचौं कार्यक्रम हेटौंडा ३ र १९ मा जेब्रा क्रसिङमा रंग लगाएर मनाएको थियो । सप्ताहव्यापी कार्यक्रमको समापनमा पुरस्कार वितरण गरिएको छ । समापन कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, वडा अध्यक्ष, हेटौंडा जेसीज वर्ष २०२४ अध्यक्ष विकेशलाल श्रेष्ठ, हेटौंडा लेडि जेसिजकी अध्यक्ष सजिता केसी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।