हेटौंडाः सार्वजनिक शिक्षा सुधारका अभियन्ता अभिषेक घिमिरेले समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ । शनिबार एस्ट्रोनोभा फाउण्डेसनले हेटौंडामा आयोजना गरेको कार्यक्रममा मुलुकको शिक्षाको अवस्था, समस्या, चुनौति र समाधानबारे सहजीकरण गर्नुहुँदै घिमिरेले शिक्षामा निराशासँगै आशालाग्दो सम्भावना पनि रहेको जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा सवलीकरण नभई देश नबन्ने उल्लेख गर्नुहुँदै पहिला विद्यालयलाई सवलीकरण गर्न जरुरी रहेको उहाँले औँल्याउनुभयो । सीप विकास र उद्यमशीलता, सामाजिक तथा साँस्कृतिक, समावेशिता र समानता, सामुदायिक विकास उत्थानमा जोड दिए मात्र सामुदायिक विद्यालयको शिक्षामा सुधार हुने उहाँको भनाइ छ । यसैगरी काठमाडौं विश्वविद्यालयअन्तर्गत शिक्षाशस्त्र संकायका एसोसिएट डीन प्रोफेसर डा. हेमराज काफ्लेले खोजमुलक शिक्षालाई जोड दिन जरुरी रहेको बताउनुभयो । स्टीम शिक्षाको अवधारणाबारे सहजीकरण गर्नुहुँदै उहाँले दुई वा दुई भन्दा बढी विषय वस्तुमा केन्द्रीत रहेर विद्यार्थीको क्षमताअनुसार आधारभूत शिक्षा दिनुपर्ने बताउनुभयो ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी कुमारी लामाले शिक्षामा देखिएका समस्या, चुनौतिलाई समाधान गर्न सबै ऐक्यवद्ध भई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । हेटौंडा–४, स्थित भूटनदेवी र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई मेघा विद्यालय बनाउन उपमहानगर लागीपरेको उहाँले बताउनुभयो । यस्तै शिक्षक दरबन्दी मिलानदेखि शिक्षक रोस्टर तयार जस्ता उत्कृष्ट कार्य उपमहानगरले गरिरहेको नगरप्रमुख लामाले जानकारी दिनुभयो । नयाँ पुस्ताले प्रविधिलाई जोडेर अघि बढ्न जरुरी रहेको बताउनुहुँदै नगरप्रमुख लामाले उक्त कार्यक्रमले हेटौंडाको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास लिनुभयो ।