हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी क्लबस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आयोजक जनएकता क्लब फाइनलमा प्रवेश गरेको छ । शनिबार बकैया–५, कर्मचुलीमा भएको दोस्रो सेमीफाइनलमा सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो ।
म्यान अफ द म्याच आयोजक जनएकताका गोलरक्षक सुजन बल घोषित भए । जितसँगै आयोजकले बकैया खेलकुद विकास समितिसँगको भेट पक्का गरेको छ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा युग परिवर्तन बागमती गाउँपालिकालाई १–० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल आइतबार दिउँसो १ बजे सुरु हुने क्लबका अध्यक्ष कृष्ण घतानीले बताउनुभयो । प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।