हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा आर्थिक वर्ष २०७६/७७ मा २९ वटा टोल विकास संस्था थपिएका छन् । आर्थिक वर्ष २०७५/०७६ को अन्तिम सम्ममा उपमहानगरपालिकामा २ सय ९८ वटा टोल विकास संस्थाहरु गठन भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा २९ थप गठन भएर हाल हेटौंडा उपमहानगरपालिकामा ३ सय २७ वटा टोल विकास संस्थाहरु गठन भएका छन् ।
टोल विकास संस्थाको काम र सक्रियताले उपमहानगरपालिकाको योजनाहरु कार्यान्वयन गर्न र नगरको चौतर्फी विकास गर्न टेवा पुग्ने हेटौंडा उपमहानगरपालिकाका समाज कल्याण शाखाका अधिकृत हिमप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाका १९ वटा वडा मध्ये सबैभन्दा धेरै वडा नम्बर ५ मा २८ वटा टोल विकास संस्थाहरु रहेका छन् । नगरमा सबैभन्दा कममा भने वडा नम्बर १६ मा हालसम्म जम्मा ३ वटा मात्रै टोल विकास संस्था गठन भएका छन् ।
टोल विकास संस्था गठन हुनको लागि सय घर धुरी हुनुपर्ने प्रावधान रहेको छ । स्थानीयले एक सय घर धुरीबाट तदर्थ समिति बनाई प्रक्रिया अनुसार साधारण सभा गरेर नगरले नयाँ कार्यसमिति गठन गरिदिएपछि टोल विकास संस्था गठन हुन्छ ।
टोल विकास संस्थाले मुख्यतः मासिक बचत संकलन गर्नुको साथै टोलको सरसफाई गर्ने, टोलको विकृतिहरु नियन्त्रण गर्ने, सरकार मार्फत टोलमा भैरहेका विकासका कामको अनुगमन गर्ने, वृक्षरोपण, ज्येष्ठ नागरिक सम्मान लगायतका कामहरु गर्ने गरेको छ । टोल विकास संस्थाहरु सक्रिय भएर यि कामहरु गर्दा वडा र स्थानीय तहलाई विकासको काम गर्न सहयोग पुग्ने हेटौंडा उपमहानगरपालिकाका समाज कल्याण शाखाका हिमप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार उपमहानगरका ५० प्रतिशत टोल विकास संस्थाहरुले यस्ता कामहरुमा सक्रिय भूमिका निभाएका छन् ।