कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामा ।

हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योगका लागि राज्यले लगानीमैत्री वातावरण बनाउन अवाश्यक रहेको बताउनुभएको छ । बुधबार महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यवस्था गरिएका नीतिगत तथा कार्यक्रमका विषयमा गरिएको अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले कानुनी रुपमा भन्दा व्यवहारमा जोड दिए लगानीमैत्री वातावरण बनाउन सकिने बताउनुभयो ।

पछिल्लो समय बेरुजुको दर बढेको भन्नुहुँदै कागजीलाई होइन साँच्चै काम गर्नेलाई अवसर दिनुपर्ने उहाँले बताउनुभयो । प्रजातन्त्र पश्चात महिला स्वतन्त्रता स्थापित भएको बताउनुहुँदै अधिकारलाई दुरुपयोग नगरी सदुपयोग गर्न महिलालाई आग्रह गर्नुभयो । महिलालाई उद्यमी बनाउन सके आयस्रोतमा सुधार हुने उहाँको भनाई छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले भान्सामा सीमित हुने महिलालाई उद्योगसँग जोड्दै उत्पादन र बजारीकरणमा उपमहानगरले जोड दिइरहेको जानकारी दिनुभयो । सीपलाई बेच्न सके मनग्य आम्दानी गर्न सकिने नगरप्रमुख लामाले बताउनुभयो । महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीलाई सहज वातावरणमा व्यवसाय गर्ने वातावरण हुन अवाश्यक रहेको बताउनुभयो । सहजकर्ता यामकुमारी खतिवडाले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा महिला उद्यमी प्रवद्र्धनका लागि कार्यक्रम एवम् कार्यान्वयनका लागि तीनै तहका सरकारको भूमिका र समन्वयबारे सहजीकरण गर्नुभयो ।