हेटौंडा १२ को वडाअध्यक्ष निर्वाचित अर्जुनप्रसाद तिवारी । फाइल तस्विर ।

हेटौँडाः स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा सोमबार बिहान सकिएको मतगणनाअनुसार तिवारी २ हजार ६३ मतसहित वडा अध्यक्ष निर्वाचित हुनुभएको हो ।

काँग्रेस उम्मेदवार तिवारी तेस्रो प्रयासमा वडा अध्यक्ष निर्वाचित हुनुभएको हो । यसअघि २०७४ र २०७९ को निर्वाचनमा तिवारी पराजित हुनुभएको थियो । यसअघि २०७४ र २०७९ दुबै निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललितबहादुर घलान वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा वडाअध्यक्ष निर्वाचित घलान जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित हुनुभएपछि वडाअध्यक्ष पद रिक्त थियो ।

वडा अध्यक्षका अर्का आकांक्षी नेकपा माओवादी केन्द्रका रविकुमार प्रधान (रविन) ले १ हजार ५ सय ६० मत पाउनुभएको छ । नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मतसहित तेस्रो हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रेम बहादुर भोलनले १ सय ७८ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशाविर बलले ८३ मत पाउनुभएको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार बलराम बलले ७३ मत, मंगोल नेशनल अर्गनाइजेशनकी दीपा लामाले ३२ मत पाउनुभएको छ ।

यस्तै जनता समाजवादी पार्टी (जसपा नेपाल) का छविलाल वाइवाले १० मत पाउनुभयो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की फूलमाया तितुङ्गले १ मत मात्रै पाउनुभयो । स्वतन्त्र उम्मेदवार छत्रप्रकाश अधिकारीले ४ मत पाउँदा गीता कुमारी नेवारले २ मत पाउनुभयो भने अर्जुन घलानको मत शून्य रह्यो ।

यसअघि आइतबार बिहान ७ बजेटबाट साँझ ५ बजेसम्म संचालन भएको मतदानमा ६८.९ प्रतिशत मत खसेको थियो । २ वटा मतदानस्थलमा कायम गरिएको ९ वटा मतदान केन्द्रमा कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४ सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ४ सय २८ मतदाता रहेको प्रतिभा आधारभूत विद्यालयको ५ मतदान केन्द्रमा ३ हजार १० मत खसेको छ भने विष्णुज्योति आधारभूत विद्यालयमा रहेको ४ वटा मतदान केन्द्रमा २ हजार ४ सय ७४ मत खसेको छ । २ हजार ९ सय ४६ महिला र २ हजार ५ सय ३७ पुरुष मतदाताले मतदान गरेका छन् । प्रतिभा मतदान केन्द्रमा १ हजार ६ सय ३७ महिला र १ हजार ३ सय ७२ पुरुषले मतदान गरेका छन् । विष्णुज्योति मतदान केन्द्रमा महिला १ हजार ३ सय ९ र पुरुष १ हजार १ सय ६५ मतदाताले मतदान गरेका छन् ।

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा–१२ मा १०२ वर्षीय एक वृद्धले मतदान गर्नुभएको छ । हेटौँडा–१२ स्थित विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा गोविन्द लामिछानेले मतदान गर्नुभएको हो । उहाँले छोराको सहयोगमा मतदान गर्नुभएको हो । कतिपय हिँड्न नसक्ने मतदातालाई ह्वीचेयरमा राखेर समेत मतदानस्थल पु¥याएर मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।