हेटौँडाः हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडाको उपनिर्वाचनअन्तर्गत मतगणना कार्य आइतबार राती ९ बजेबाट सुरु हुने भएको छ । हेटौँडा–२ स्थित सिद्धार्थ मावि मतगणनास्थलमा मतपेटिका ल्याइपु¥याएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर मतगणनाको तयारी गरेको हो ।
मतगणना कार्य सुरुमा एउटा समूहमा मात्रै गरिने तयारी छ । आइतबार बिहान ७ बजेटबाट साँझ ५ बजेसम्म संचालन भएको मतदानमा ६८.९ प्रतिशत मत खसेको छ । २ वटा मतदानस्थलमा कायम गरिएको ९ वटा मतदान केन्द्रमा कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४ सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ४ सय २८ मतदाता रहेको प्रतिभा आधारभूत विद्यालयको ५ मतदान केन्द्रमा ३ हजर १० मत खसेको छ भने विष्णुज्योति आधारभूत विद्यालयमा रहेको ४ वटा मतदान केन्द्रमा २ हजार ४ सय ७४ मत खसेको छ । २ हजार ९ सय ४६ महिला र २ हजार ५ सय ३७ पुरुष मतदाताले मतदान गरेका छन् । प्रतिभा मतदान केन्द्रमा १ हजार ६ सय ३७ महिला र १ हजार ३ सय ७२ पुरुषले मतदान गरेका छन् । विष्णुज्योति मतदान केन्द्रमा महिला १ हजार ३ सय ९ र पुरुष १ हजार १ सय ६५ मतदाताले मतदान गरेका छन् ।
वडा अध्यक्ष पदमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनका लागि कांग्रेसका अर्जुन प्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाईबा, मंगोल नेशनल अर्गनाइजेशनकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।