Home मुख्य समाचार हेटौंडा–१२ मा निर्वाचनको तयारी पूरा, भयरहित वातावरणमा मतदान गर्न प्रजिअको आग्रह

हेटौंडा–१२ मा निर्वाचनको तयारी पूरा, भयरहित वातावरणमा मतदान गर्न प्रजिअको आग्रह

निर्वाचनका लागि तयार पारिएको मतदान केन्द्र ।

हेटौँडाः आइतबार हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा हुने वडा अध्यक्ष पदको निर्वाचनको तयारी पूरा भएको छ । आइतबार बिहान हुने मतदानका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हेटौंडा–१२ मा एक वडा अध्यक्ष पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । निर्वाचनका लागि हेटौंडा–१२ मा मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी खटाएर काम सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानस्थलमा मतपत्र र मतपेटिका तथा अन्य सामग्रीहरु पुर्याइसकेको छ भने मतदानका लागि सर्वदलीय बैठक बसेर आवश्यक निर्देशनहरु समेत गरिएको छ ।

हेटौंडा–१२ मा २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५ सय ८८ मतदाता थपिएर कुल ८ हजार ५३ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन् । निर्वाचनका लागि २ वटा मतदानस्थल तोकिएको छ । पूर्वतर्फ प्रतिभा आधारभूत विद्यालय सिक्रेनीमा र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा मतदानस्थल कायम गरिएको छ । प्रतिभामा ५ वटा मतदान केन्द्र रहेको छ भने विष्णुज्योतिमा ४ वटा गरी कुल ९ वटा मतदान केन्द्र रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार प्रतिभा मतदानस्थलमा ४ हजार ४२८ र विष्णुज्योतिमा ३ हजार ६२५ मतदाताले मतदान गर्नेछन् । निर्वाचनका लागि ९ वटा केन्द्रमा ४५ जना कर्मचारीहरु परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा निर्वाचन केन्द्रमा ५ जना कर्मचारी र १ जना स्थानीय स्वयम्सेवक रहने व्यवस्था गरिएको छ ।

बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन
निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले बाक्लो मात्रा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले आफैं स्थलगतरुपमा पुगेर सुरक्षा व्यवस्था कडाइ पारिएको बताउनुभयो । संख्यात्मक रुपमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर निर्वाचनलाई भयरहित बनाउने काम भइरहेको उहाँले बताउनुभएको छ । मतदानस्थल, मतदाता, उम्मेदवारको सुरक्षालाई मध्येनजर गरेर सुरक्षाकर्मी परिचालन गरिएको उहाँको भनाई छ ।

४ वटा सुरक्षा निकायलाई परिचालन गरी निर्वाचनलाई भयरहित बनाउने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो । वडाको हरेक नाकामा प्रहरी परिचालन गरिएको छ भने पेट्रोलिङ मार्फत् वडाको सुरक्षाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताउनुभयो । उहाँले मतदातालाई भयरहित वातावरणमा मतदान गर्न आग्रह समेत गर्नुभएको छ ।

हेटौँडा–१२ को एक वडा अध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये दलबाट ९ जना र स्वतन्त्र ३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । दलबाट एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा छन् ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।

Exit mobile version