Home मुख्य समाचार उपचाररत शिक्षक प्रेम बोम्जनलाई शिक्षक, कर्मचारीको सहयोग

उपचाररत शिक्षक प्रेम बोम्जनलाई शिक्षक, कर्मचारीको सहयोग

उपचाररत प्रधानाध्यापक प्रेमबहादुर बोम्जनलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै शिक्षक महासंघ बागमती गाउँपालिका समितिका अध्यक्ष बसन्त राईसहित सहयोगी शिक्षक, विद्यालय कर्मचारीहरु ।

हेटौँडाः अज्ञात समूहले हानेको गोली लागेर उपचाररत मकवानपुरको बकैया गाउँपालिका–३, हात्तिसुडेस्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनलाई बागमती गाउँपालिकाका शिक्षक, कर्मचारीले आर्थिक सहयोग गरेको छ । काठमाडौंमा उपचाररत बोम्जनलाई भेटेर शिक्षक महासंघ बागमती गाउँपालिकाका अध्यक्ष बसन्त राई नेतृत्वको शिक्षक–कर्मचारी समूहले प्रधानाध्यापक बोम्जनलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ ।

राईको सक्रियतामा संकलित २ लाख ४३ हजार ३ सय ९० रुपैयाँको चेक शनिबार काठमाडौंमा आफन्तकोमा बस्नुभएका बोम्जनलाई हस्तान्तरण गरिएको छ । सर्लाहीबाट सिन्धुली हुँदै मकवानपुर फर्कँदै गर्नुभएका बोम्जन र उहाँका भाइलाई गत कात्तिक २५ गते ३ जनाको समूहमा आएका अज्ञात समूहले सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका–६ मा आक्रमण गरेका थिए । आक्रमणकारीले चलाएको गोली लागेर बोम्जनको मुखमा चोट लागेको छ ।

शिक्षक महासंघ बागमतीका अध्यक्ष बसन्त राईका अनुसार बागमती गाउँपालिका–१, माझगाउँका स्थायीबासी बोम्जन लामो समय बागमती गाउँपालिका–१ स्थित सूर्य माध्यमिक विद्यालयमा समेत अध्यापन गर्नु भएको र बागमती गाउँपालिकासँगको सम्बन्धकै कारण महासंघले शिक्षक, विद्यालय कर्मचारीसँग सहयोग संकलन गरेर बोम्जनलाई हस्तान्तरण गरेको बताउनुभयो । हालसम्म बोम्जनको स्वास्थ्यउपचारमा करिब ९ लाख रुपैयाँ खर्च भइसकेको र अझै ३ लाख खर्च हुने अनुमान गरिएको राईले बताउनुभयो ।

बोम्जनको स्वास्थ्य सुधार हुँदै आएको र उपचारका लागि काठमाडौंमै बस्नुपर्ने भएपछि उहाँ आफन्तको घरमा बस्दै आउनुभएको छ । बोम्जनमाथि आक्रमण गर्ने एकजनालाई प्रहरीले घटना भएकै दिन पक्राउ गरेको छ भने २ जना फरार छन् । शिक्षक संघ, संगठनले भने दोषीलाई कारवाही गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

Exit mobile version