हेटौँडाः रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–६, सिमलडाँडा भीरमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजेर ५० मिनेटको समयमा खिम्ती बेताली सडकखण्डमा काठमाडौबाट बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी अनियन्त्रित भई भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा गाडीमा सवार ८ जना मध्ये ५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । मृत्यु हुनेमा चालक मन्थली नगरपालिका–१०, चिसापानीका ३५ वर्षीय हिरा बहादुर कार्की, गोकुलगंगा–४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत, गोकुलगंगा–५ की ३० वर्षीया कविता कार्की खड्का, कविता कार्कीको ७ वर्षीया छोरी स्वस्तिका खड्का र गोकुलगंगा–४ बेताली जोगीडाँडा बस्ने २८ वर्षीया सविना (गजमेर) विकको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा घाइले ३ जना मध्ये १ जनाको ट्रमा सेन्टर २ जनाको केएमसी काठमाडौमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि मन्थली अस्पताल लगिएको छ ।