मकवानपुर तथा आसपासका जिल्लाका बासिन्दालाई सेवा दिँदै आएको हेटौंडा सामुदायिक आँखा अस्पताल १७ औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल मंसिर ५ गतेदेखि सञ्चालनमा आएको अस्पतालले १६ वर्षको अवधिमा झण्डै ९ लाखलाई सेवा दिएको छ । स्थापनाकालदेखि हालसम्म अस्पतालमा ८ लाख ९३ हजार जनाले आँखा जाँच गराएका छन् । जसमध्ये ६० हजार जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर २२ हजार जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालमा अहिले ३ जना नेत्र विशेषज्ञसहित ४० जना कार्यरत छन् भने २० जना थप जनशक्ति बाह्य स्रोतबाट व्यवस्थापन गरिएको छ । अस्पतालमा एक सय ५० रुपैयाँ शुल्कमा दैनिक बिहान साढे ८ बजेबाट बहिरंग सेवा तथा ४ सय ५० रुपैयाँ शुल्क लिएर दिउँसो ३ः३० बजेबाट विस्तारित सेवामार्फत् आँखा परीक्षण गराउने सुविधा छ ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाको रुपमा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना भएको हो । हाल भक्तपुर र निजगढमा पनि अस्पताल स्थापना गरी सञ्चालन भइरहेको छ । तिलगंगा आँखा अस्पताल तथा नेपाल आँखा कार्यक्रमले हेटौंडा–३, बसामाडीमा आँखामा लगाउने लेन्स उत्पादन उद्योग निर्माण गरिरहेको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको थाहा नगरपालिका, मनहरी गाँउपालिका र बागमती गाँउपालिकासँग समन्वय गरेर ती पालिकामै सामुदायिक आँखा केन्द्र सञ्चालन गरिरहेको छ । जिल्लाकै ईन्द्रसरोवर, कैलाश र बकैया गाउँपालिकासँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालन आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । राक्सिराङ, भीमफेदी र मकवानपुरगढी गाउँपालिकासँग पनि ग्रामीण आँखा केन्द्र स्थापना गरेर जिल्लाका सबै पालिकामा अस्पतालले सेवा विस्तार गर्ने योजना राखेको छ । हेटौंडा सामुदायिक आँखा अस्पताल परिसरमा शल्यक्रिया सेवाका लागि छुट्टै भवन निर्माण कार्य सुरु हुँदैछ ।
अस्पतालबाट आँखा जाँच, चश्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गरिँदै आएको छ । शिक्षक, स्वास्थ्य कार्यकर्ता, महिला स्वास्थ्य स्वयम्सेविका, कल–कारखानाका कामदार लगायत विभिन्न समूहलाई अस्पतालले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना प्रदान गर्दै आएको छ । अस्पतालमै पुगेर आँखा उपचार सेवा लिन नसक्नेहरुलाई लक्षित गरी अस्पतालले विभिन्न संघसंस्थाको सहयोगमा ग्रामीण क्षेत्रमा निःशुल्क आँखा शिविर आयोजना गर्नुका साथै मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । न्यून शुल्कमा सहज, व्यवस्थित र प्रभावकारी आँखासम्बन्धी विभिन्न उपचार सेवा प्रदान गर्दै आइरहेको हेटौंडा सामुदायिक अस्पताललाई स्थानीय सरकारका साथै व्यक्तिगत र संस्थागत सहयोग प्राप्त भइरहेको छ ।
आँखासम्बन्धी सामान्य उपचारसमेत कठिन हुने गरेको हेटौंडामा सामुदायिक आँखा अस्पताल स्थापनापछि आँखा परीक्षण तथा उपचार सहज बनेको हो । अस्पतालले मकवानपुरका धेरै स्थानीय तहमा सेवा विस्तार गरिसकेको छ भने सिन्धुली, सर्लाही, रौतहट, बारा तथा पर्सालगायत जिल्लाका गाउँबस्तीसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरेर सेवा दिँदै आएको छ । करिब डेढ दशकको अवधिमा अस्पतालले आफ्नो सेवा प्रवाहलाई स्तरीकृत र प्रभावकारी बनाउँदै सेवा विस्तारमा समेत उल्लेख्य प्रगति गरेको छ । जसले गर्दा आँखा उपचारकै लागि हेटौंडा बाहिर जानुपर्ने बाध्यता अन्त्यजस्तै भएको छ । तीनै तहको सरकारले हेटौंडा सामुदायिक आँखा अस्पताललाई नियमित सहयोग प्रदान गर्ने हो भने अस्पतालले सुलभ र थप प्रभावकारी सेवा प्रदान गर्न सहज हुने देखिन्छ ।