उपाधिसाथ आयोजक नागस्वती भेट्रान्सको टिम ।

हेटौँडाः तेस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्सले नै जितेको छ । शनिबार हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा जोरपाटी भेट्रान्स काठमाडौंलाई सडन डेथमा हराउँदै साविक विजेता समेत रहेको आयोजक नागस्वती भेट्रान्सले उपाधि जितेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरी भएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनु परेको थियो । आयोजकको तर्फबाट निलेन्द्र देवानले गोल गरे भने जोरपाटीका लागि निमा लामाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि नतीजाका लागि सडन डेथको सहारा लिनुपरेको थियो । म्यान अफ द म्याच आयोजकका गोलरक्षक दिलिप क्षेत्री घोषित भए ।

उपाधिसँगै आयोजक नागस्वती भेट्रान्सले नगद २ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जोरपाटी भेट्रान्सले १ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेतालाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले पुरस्कार वितरण गर्नुभयो ।

आयोजकका सन्तोष बस्नेतले प्लेयर अफ द टुर्नामेन्ट घोषित हुँदै ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । सर्वोकृष्ट गोलरक्षक आयोजककै दिलीप क्षेत्री घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट फरवार्ड सरोज सुवेदी, डिफेन्डर आयोजकका मिलन राई, मिडफिल्डर राजकुमार घिसिङ, प्रशिक्षक आयोजकका भीम श्रेष्ठ र उत्कृष्ट स्कोरर आयोजकका निलेन्द्र देवान घोषित हुँदै जनही ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । नागस्वती भेट्रान्स क्लबका अध्यक्ष सोम बहादुर तितुङको सभाध्यक्षमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा वडाध्यक्षहरु दामोदर गौतम, रामकृष्ण थापा, सुकराम केसी, सुशील घिमिरेको पनि आतिथ्य रहेको थियो ।