विद्यालय भवनको शिलान्यास गरिँदै ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–७, तल्लो गर्लिङस्थित सातकन्या प्राथमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । शुक्रबार प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले भवन शिलान्यास गर्नुभएको हो । शिलान्यास गरिएको भवनमा ७ वटा कोठा निर्माण हुनेछ ।

२०८१ साल कात्तिक २० गते निर्माण कम्पनिसँग सम्झौता भए बमोजिम आउँदो २०८२ साल कात्तिक १८ गतेसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । लिसा हिमालय ईभीको आर्थिक सहयोगमा शिक्षा, स्वस्थ्य जीविकोपार्जन सहयोग राक्सिराङ कार्यक्रम अन्तर्गत भवन निर्माण हुन लागेको दिगो विकासका लागि एकता नेपाल मकवानपुरका व्यवस्थापक अनिल पौडेलले जानकारी दिनुभयो ।

गृह आर्किटेक्ट एण्ड विल्डर्स प्राइभेट लिमिटेडले दुई करोड एक लाख १७ हजार ६३ रुपैयाँ ३९ पैसामा निर्माण सम्झौता गरेको छ । भवन निर्माण पश्चात् अफिस एक, बाल विकास केन्द्रदेखि कक्षा–५ सम्म पठनपाठन सञ्चालनका भवन प्रयोग हुनेछ । २०७२ सालको भूकम्पपछि विद्यालय जीर्ण बनेको थियो । भवन जीर्ण भएपछि जसोतसो पठनपाठन संचालन हुँदै आएकोमा अब नयाँ भवन बनेपछि विद्यार्थी र शिक्षकलाई ठूलो राहत पुग्ने विद्यालयकी प्रधानाध्यापक अनुराधा चौधरीले बताउनुभयो ।

एक सय १७ जना विद्यार्थी अध्ययन गर्दै आइरहेको विद्यालयमा दुई कोठे भवन मात्रै छ । बीचमा टिन बारेर बाल विकास केन्द्र र कक्षा–१ एउटै कोठामा, कक्षा–२ र ३ एउटै कोठामा संचलान गरिँदै आएको छ । यस्तै कक्षा ४ र ५ छुट्टाछुट्टै कक्षाकोठा पठनपाठन हुँदै आएको छ । भवन निर्माणका लागि पटक–पटक राक्सिराङ गाउँपालिकालाई आग्रह गर्दा भवनका लागि बजेट प्राप्त नभएको बताइएको छ । भवन शिलान्यास कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको पनि आतिथ्य रहेको थियो ।