हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरले संघीय सरकारका प्रमुख सचेतक महेश बर्तौलालाई १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बुधबार संगठनका अध्यक्ष श्रीराम दहालको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाउँदै मुलुकमा नयाँ संविधान जारी भएको ९ बर्ष बितिसक्दा पनि नयाँ शिक्षा ऐन जारी नगरिएकोप्रति खेद प्रकट गरिएको छ ।
नयाँ शिक्षा ऐन जारी नहुँदा शिक्षकहरुमाथि चौतर्फी हमला भएको, शिक्षकमाथि दरबन्दी मिलानको नाममा, प्रधानाध्यापक व्यवस्थापनका नाममा, विद्यालय व्यवस्थापन समिति गठनको नाममा, विद्यालय मर्जको नाममा दिनानुदिन ज्यादती बढ्दै गइरहेको जनाइएको छ । शिक्षकहरुले संविधान प्रदत्त ट्रेड युनियन अधिकार र मानव अधिकार समेत उपभोग गर्न कठिनाई भइरहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । त्यसले गर्दा नेपालको संविधान अनुसारको निःशुल्क, समावेशी शिक्षाको सुनिश्चिता हुुनुपर्ने, नेपाल शिक्षक महासंघले नेपाल सरकारसँग विगतमा पटक–पटक गरेका सहमतिहरुको कार्यान्वयन गर्न पनि संगठनले माग गरेको छ ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, बालविकास, शिक्षकहरुको दरबन्दी कायम गरी तहअनुसारको तलबमानको व्यवस्था गर्न, साविक उच्च मावि र राहत शिक्षकहरुको दरबन्दीसहित स्थायी प्रक्रियामा लैजान माग गरिएको छ । गुणस्तरीय शिक्षाका लागि शिक्षामा गुणस्तरीय लगानीको ग्यारेन्टी गर्न, स्थानीय तहमा पेशागत हक, अधिकार र शिक्षकको संरक्षण गर्न, संविधान सम्मत ट्रेड युनियन अधिकारको प्रत्याभूति हुनुपर्ने, निजी र सामुदायिक विद्यालयका निजी प्रकारका शिक्षकहरुको आधारभूत सेवा सुविधाको ग्यारेन्टी गर्न माग गरिएको छ । यसैगरी विद्यालय शिक्षालाई तीनै तहका सरकारको साझा दायित्व बनाउन, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनुपर्ने तथा शिक्षक काउन्सिलको व्यवस्था गर्न, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ ले दिएका सुझावहरु अविलम्ब कार्यान्वयन गर्न, शिक्षक सरुवा कार्यविधी तत्काल खारेज गर्न माग गरिएको छ ।
शिक्षक संगठनको ध्यानाकर्षणपछि सरकारका प्रमुख सचेतक बर्तौलाले हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित हुने दावी गर्नुभयो । उहाँले शिक्षक संगठनले उठाएका जायज मागमा सरकारले सकारात्मक दृष्टिकोणले हेर्ने पनि बताउनुभयो । सरकार शैक्षिक सुधार गर्न तयार रहेको र त्यसमा शिक्षकको साथ र सहयोग आवश्यक भएको बर्तौलाले बताउनुभएको छ ।