हेटौंडाः जिल्ला दररेट निर्धारण समिति मकवानपुरले चालु आर्थिक वर्षका लागि मकवानपुर जिल्लाको जिल्ला दररेट स्वीकृत गरेको छ । असार ३० गते समितिका संयोजक एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले जिल्ला दररेट स्वीकृत गर्ने निर्णय गरेको हो । जिल्ला दररेट स्वीकृत भएसँगै सार्वजनिक निर्माणका कार्यको प्रक्रिया थालनी गर्न बाटो खुलेको छ । सार्वजनिक खरिद नियमावलीमा संशोधन गरेर नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै जिल्ला दररेट निर्धारण गर्नुपर्ने व्यवस्थाअनुसार नै असार ३० गते दररेटको निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभएको छ ।
जिल्ला दररेट निर्धारण समितिले जिल्ला दररेट स्वीकृत नगर्दा सार्वजनिक निर्माण सम्बन्धी कामका लागि ठेक्का प्रक्रिया थालनी गर्न नै समस्या हुने गरेको थियो । जिल्ला दररेट स्वीकृत भएसँगै सार्वजनिक निर्माण कार्यको अनुमानित लागत मूल्यांकन गर्ने क्रममा निर्माण सामग्री तथा ज्यालाको दर उल्लेख गर्न बाटो खुलेको छ । आर्थिक वर्ष २०७७/७८ का लागि जिल्ला दररेट निर्धारण समितिले दक्ष कामदार र अदक्ष कामदारको दैनिक ज्यालामा थोरै वृद्धि गर्ने निर्णय गरेको छ । अन्य वस्तुको दररेट भने गत आर्थिक वर्षकै दर कायम गरिएको समितिका संयोजक एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभएको छ । जिल्ला दररेट निर्धारण समितिले दक्ष कामदारको दैनिक ज्याला ९३० रुपैयाँ र अदक्ष कामदारको दैनिक ज्याला ६७५ रुपैयाँ कायम गरेको छ । यसअघि अघिल्लो आर्थिक वर्षमा दक्ष कामदारको दैनिक ज्याला ९ सय रुपैयाँ र अदक्ष कामदारको दैनिक ज्याला ६५० रुपैयाँ निर्धारण गरिएको थियो ।
दररेट निर्धारण समितिले विभिन्न शीर्षकमा ३८ पेज लामो दररेट विवरण सार्वजनिक गरेको छ ।
जिल्ला दररेट निर्धारण समिति प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समितिका सदस्य, कोष तथा लेखा नियन्त्रणको कार्यालयका प्रमुख, निर्माण व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । समितिको सदस्य सचिव प्राविधिक अधिकृत रहने व्यवस्था छ ।
जिल्ला दररेट निर्धारण समितिले निर्धारण गरेको दररेटको पूर्ण विवरण ।
जिल्ला_दररेट_आ.व._२०७७_०७८