हेटौंडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः जेसीआई हेटौँडा लेडीको जेसी सप्ताह २०२४ को दोस्रो दिन मन्दिर सरसफाई एवम् शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बुधबार हेटौँडा–१० स्थित भुटनदेवी मन्दिर परिसरमा सरसफाई गरिएको जेसीआई हेटौँडा लेडीकी महासचिव इन्दिरा बानियाँले जानकारी दिनुभयो ।

भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठको प्रमुख आतिथ्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संयोजन रन्जु पुडासैनीले गर्नुभएको महासचिव बानियाले बताउनुभयो । यस्तै कार्यक्रमको दोस्रो दिन हेटौंडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रमको संयोजन दिप्ती अधिकारीले गर्नुभएको थियो । जेसीआई हेटौँडा लेडी २०२० की अध्यक्ष हाल प्रमुख बोर्ड सल्लाहकार सुशीला पौडेलद्वारा विद्यालयलाई २५ हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले अघिल्ला वर्षदेखि नै स्वर्गीय पिताको नामबाट शैक्षिक सामग्री हस्तान्तरण गर्दै आउनुभएको महासचिव बानियाले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिका–९ का वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार सम्पन्न हुने जेसीज सप्ताहमा बिहिबार बिहान हेटौँडा ४ स्थित हुप्रचौरमा बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता हुँदैछ । यस्तै खुल्ला वक्तृत्व कला प्रतियोगिता र सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।