सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकैदिन ७ जनाको मृत्यु भएको छ । प्रदेशको रामेछाप, सिन्धुली, धादिङ र चितवन जिल्लामा एकैदिन ७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौैँडाले जानकारी दिएको छ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, ढापटोलमा गारेटो बाटोमा लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय मकर बहादुर थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार साँझ ६ बजेको समयमा मगर आफ्नै घर पछाडी रहेको गोरेटो बाटोबाट ५ मिटर तल खस्दा घाइते भएका थिए । घाइते मगरको टोकरपुर स्वास्थ्य चौकीबाट टोली आई उपचार गर्ने क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–५, ऐसेलुजंघार सिन्धुली कारागारमा एक जना कैदीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वर नगरपालिका–२, का ५४ वर्षीय रामनन्दन साह सुडि रहेको प्रहरीले जानकारी दिएको छ । सुडिलाई धनुषा जिल्ला अदालतबाट लेनदेन तथा बिगो मुद्धामा १८१ दिन कैद फौसला भई कैद भुक्तानको लागि गत असार २२ गते ऐसेलुजंघार स्थित सिन्धुली कारागारमा राखिएको थियो । सुडि बुधबार साँझ ६ बजेको समयमा अचानक छाती दुखी बिरामी भएका थिए । सुडिलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा साँझ ६ बजेर १५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका–२, एक जना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा मरिण गाउँपालिका–३ का ७० वर्षीय आईते माझी रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो १ बजेको समयमा माझी घर देखी ३ किलोमिटर पर मरिण खोलामा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा माझी बुधबार बिहान घरमा कोहि कसैलाई नसोधि हिडेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–११, तल्लो धनसरीमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोबिन्द नाथ अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । अधिकारी बुधबार बिहान ५ बजेको समयमा घरबाट धान कुटाउनलाई धानको बोरा लिई गएका थिए । अधिकारी तल्लो धनसरीबाट सातपत्रे गाँउ जाने कच्ची सडकमा बिजुलीको पोलबाट चुडीएको तारमा करेन्ट लागि बिहान ६ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–५, गौरिगाउँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका–२ का ६० वर्षीय सेते सार्की रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार चिप्लेटी ढुंगा अर्चलेटार सिंचाई पानी नभएको कुलोमा ५१ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । सार्की मंगलबार निलकण्ठ कल्लेरीमा आफन्तलाई भेटघाट गरी नुवाकोटको लागि हिडेकोमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१५, देविचोकमा मोटरसाकल र स्कुटर एक आपसमा ठोकिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार दिउासो ४ बजेर ५५ मिनेटको समयमा देबिचोक स्थित सडक खण्डमा मोटरसाकल र स्कुटर एक आपसमा ठोकिँदा दुवै सवारी चालक गम्भिर घाईते भएको प्रहरीले जानकारी दिएको छ । दुवै चालकलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको थियो । मोटरसाइकल चालकलाई भरतपुर महानगरपालिका–४, लंकुका ३१ वर्षीय कसम खरेल लाई थप उपचारको लागि अन्नपुर्ण हस्पिटल काठमाण्डौमा लगिएकोमा उपचारको क्रममा बुधबार साँझ ५ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका–९, बैरहनीमा पहिचान नखुलेको सवारीको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भई चितवनको राप्ती नगरपालिका–५, घरमा काम गरी बस्ने ५५ वर्षीय निर बहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान २ बजेको समयमा पुर्व पश्चिम राजमार्गमा पहिचान नखुलेको सवारीको ठक्करबाट गुरुङ घाईते भएका थिए । घाइते गुरुङलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान २ बजेर ४३ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंका लागि इलाका प्रहरी कार्यालयले मनहरीमा रोकिएको काठमाण्डौबाट विरगन्ज तर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५७७२ नम्बरको स र भैरहवाबाट सर्लाही तर्फ जाँदै गरेको ना ६ ख ३३०० नम्बरको ट्रकलाई चालकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।