सामाजिक विकास मन्त्री यूवराज दूलाल मन्त्रालयका सचिव दीपक काफ्लेसँग कार्यसम्पादन करार हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आज मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरुसँग चालु आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन करार गरेको छ । आज बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेलसँग कार्यसम्पादन करार गर्नुभएका सामाजिक विकास मन्त्री यूवराज दूलालले आजै दिनको ३ बजे सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमका बीच सचिव दीपक काफ्लेसँग कार्यसम्पादन करार गर्नुभएको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले महाशाखा प्रमुखसँग कार्यसम्पादन करार हस्तान्तरण गर्नुहुँदै ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेका अनुसार मुख्यमन्त्रीसँग मन्त्रीले कार्यसम्पादन करार गरेलगत्तै मन्त्रालयमा मन्त्रीले सचिव र सचिवले महाशाखा प्रमुखहरुसँग कार्यसम्पादन करार गर्ने तयारी बमोजिम आजै कार्यसम्पादन करार गरिएको हो । मन्त्रालयका सचिव दीपक काफ्लेले मन्त्रालयका शिक्षा, खेलकुद, महिला तथा बालबालिका, जनस्वास्थ्य र अस्पताल महाशाखाका प्रमुखहरुसँग कार्यसम्पादन करार गर्नुभएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत विभागीय प्रकृतिका थुप्रै मातहतका निकायसँग क्रमशः कार्यसम्पादन करार गरिने सचिव काफ्लेले बताउनुभयो । सचिव र सचिव मार्फत महाशाखा प्रमुखहरुसँग कार्यसम्पादन करार भएसँगै मन्त्रालयको कार्यसम्पादन र प्रगतिमा थप सुधार हुने सामाजिक विकास मन्त्री यूवराज दूलालले विश्वास व्यक्त गर्नुभएको छ ।