हेटौँडाः बसमा सँगै यात्रा गरिरहेका यात्रुको पैसा चोरी गरेको आरोपमा मकवानपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको बसमा सवार मकवानपुरको मनहरी गाउँपालिका–६, लोथरका ४९ वर्षीय भरत गौतमको गोजीमा भएको ५१ हजार रुपैयाँ चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।
चोरी गरेको अभियोगमा प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० का ४२ वर्षीय प्रेम दोर्जे शेर्पा, सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका–६ का ३२ वर्षीय लाक्पा तामाङ, धनकुटा जिल्लाको छथर गाउँपालिका–३ का ३७ वर्षीय हेमराज श्रेष्ठलाई प्रहरीले लोथर बजारबाट नियन्त्रणमा लिएको छ । प्रहरीले शेर्पाको साथबाट १ लाख ६९ हजार ७१० रुपैयाँ, तामाङको साथबाट ३९ हजार रुपैयाँ र श्रेष्ठको साथबाट ५ हजार ७७० रुपैयाँ बरामद गरेको छ ।
बसमा सँगैको सिटमा यात्रा गरिरहेका उनीहरुले गौतमको पाइन्टको गोजी काटेर चोरी गरेको प्रहरीको भनाइ छ । बसबाट ओर्लिएर घर पुगेपछि गौतमले आफ्नो पैसा चोरी भएको थाहा पाएका थिए । आफ्नो पैसा चोरी भएको भनी थाहा पाएपछि गौतमले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका तीनैजनाले चोरी गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ । चोरीको अभियोगमा पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।