लुटपाट गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका दुईजना ।

हेटौँडाः धारिलो हतियार देखाएर लुटपाट गर्ने २ जनालाई मकवानपुर प्रहरीलाई पक्राउ गरेको छ । शनिबार दिउँसो हेटौँडा–११, थानाभर्याङ नजिकै राप्तीखोलाको बगरमा धारिलो हतियार देखाएर सुनको सिक्री लुटेको आरोपमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

प्रहरी प्रवक्ता अर्यालका अनुसार पक्राउ पर्नेमा हेटौँडा–११ थानाभर्याङका २० वर्षीय असमिन चौलागाई र २० वर्षीय अनिष चौलगाई रहेका छन् । उनीहरुले बकैया गाउँपालिका–४ का २० वर्षीय मनिष फुयाल र २४ वर्षीय सुजन पौडेलको १ तोलाको सुनको सिक्री लुटेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । उनीहरुलाई सुनको सिक्रीसहित नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दा चलाइएको प्रहरीको भनाई छ । पक्राउ गरिएका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान कार्य अघि बढाइएको छ ।