हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा परीक्षा दिँदै परीक्षार्थी ।

हेटौँडाः शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको शिक्षण अनुमति पत्रको परीक्षामा एकतिहाई परीक्षार्थी अनुपस्थित भएका छन् । बागमती प्रदेशबाट परीक्षा दिन फारम भरेका मध्ये ५ हजार परीक्षार्थीको परीक्षा केन्द्र हेटौँडाका विभिन्न शैक्षिक संस्थामा निर्धारण गरिएको थियो । शनिबार दिउँसो भएको परीक्षामा हेटौँडामा ३ तीन हजार ३ सय २४ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।

बागमती प्रदेशअन्तर्गत हेटौँडा र ललितपुरमा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । हेटौँडाका विभिन्न ९ वटा शैक्षिक संस्थामा परीक्षा केन्द्र कायम गरिएको थियो । शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी हुन फारम भरेका मध्ये ५ हजार परीक्षार्थीले हेटौँडामा परीक्षा दिनुपर्ने थियो । तर, एक तिहाई अर्थात् ३३ दशमलव ५२ प्रतिशत परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी अधिकृत उन्नति ढकालले जानकारी दिनुभयो ।

शिक्षण अनुमतिपत्रको परीक्षामा १ घण्टाको वस्तुगत प्रश्न सोधिएको थियो । दिउँसो १ बजेदेखि परीक्षा सुरु भएको हो । परीक्षाको नतीजा एक महिनाभित्र आयोगले प्रकाशन गर्नेछ । शिक्षण अनुमतिपत्र प्राप्त गरेका उम्मेदवारले मात्रै आयोगले लिने सम्बन्धित तहको परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षामा केही संख्यामा अपाङ्गता भएका परीक्षार्थी पनि सहभागी भएको ढकालले जानकारी दिनुभयो । अपाङ्गता भएका परीक्षार्थीले सहयोगी राखेर परीक्षा दिने व्यवस्था आयोगले मिलाएको थियो ।