हेटौँडा–१३, पदमपाखेरीमा रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः शनिबार मकवानपुर जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । हेटौँडा–१३, पदमपोखरीमा भएको खुल्ला रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौँडा–१३ र रक्तदाता स्वयम्सेवी समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा २५ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा ३ जना महिला र २२ जना पुरुषले रक्तदान गरेका थिए । रक्तदाता स्वयम्सेवी समाजले केन्द्रमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । समाजले यस आर्थिक वर्ष भित्र हेटौँडा उपमहानगरपालिका भित्रको सबै वडामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने समाजका अध्यक्ष पूर्णप्रसाद अर्यालले जानकारी दिनुभयो । केन्द्रमा रगतको अभावका कारण विरामीको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गर्दैै आएको अध्यक्ष अर्यालले बताउनुभयो ।

यस्तै इन्द्रसरोवर गाउँपालिका–५ मा भएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । शनिबार मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ साधारण सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेको सापकोटाले जानकारी दिनुभयो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी इन्द्रसरोवर उपशाखाको सहकार्य, नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा र संस्थाको आयोजनामा भएको थियो ।