मकवानपुर जिल्ला क्रिकेट टिम ।

हेटौंडाः यु–१९ प्रदेशस्तरीय टिम छनोट क्रिकेट प्रतियोगितामा मकवानपुर जितविहिन बनेको छ । छनोट प्रतियोगिताको अन्तिम तथा पाँचौं खेलमा पनि शुक्रबार हार व्यहोरेपछि मकवानपुर जितविहिन बनेको हो । छनोट प्रतियोगिताअन्तर्गत ५ खेलमध्ये ४ खेलमा हार व्यहोरेको मकवानपुरको एक खेल भने वर्षाका कारण अनिर्णित बनेको थियो ।

शुक्रबार काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा भएको अन्तिम छनोट खेलमा मकवानपुर भक्तपुर जिल्लासँग ७० रनले पराजित भएको छ । टस जितेर पहिले व्याटिङ गरेको भक्तपुरले निर्धारित ४० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । भक्तपुरका रिन्जिन लामाले ८२ बलमा सर्वाधिक ६० रन बनाएका थिए । रोहित शर्माले ८४ बलमा ५२ रन बनाएका थिए । सन्दिप कार्कीले ५४ बलमा ३० रन र भुपेन्द्र आचार्यले १२ बलमा ११ रन जोडेका थिए ।

बलिङतर्फ मकवानपुरका रोहित ठाकुरले ३२ बलमा सर्वाधिक ४ विकेट लिएका थिए भने शिवशक्ति महतोले ३६ बलमा ३ विकेट लिएका थिए । १ सय ७४ रनको लक्ष्य पछ्याएको मकवानपुरले ३० ओभर १ बलमा १ सय ३ रन बनाउँदै सबै विकेट गुमाएको थियो । मकवानपुरका टिम कप्तान गोकुल अधिकारीले २० बलमा २२ रनको योग्दान दिएका थिए । रोहित ठाकुरले ३२ बलमा २१ रन र शिवशक्ति महतोले ३९ बलमा १९ रन बनाएका थिए ।

बलिङतर्फ भक्तपुरका दीपक सेरेलाले १७ बलमा र नितेश कुमारले २५ बलमा समान ४÷४ विकेट लिएका थिए । रोहित शर्माले २१ बलमा २ विकेट लिएका थिए । असोज ३० गते हेटौंडा र काठमाडौंमा एकसाथ सुरु भएको प्रतियोगिता कार्तिक ९ गते काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न भएको हो । मकवानपुरले घरेलु मैदानमा भएको पहिलो खेलमा नुवाकोटसँग १ रनले र दोस्रो खेलमा चितवन जिल्लासँग २ रनले पराजित हुनुपरेको थियो भने ललितपुरसँगको खेल वर्षाको कारण बाधक बन्न पुगेको थियो । यस्तै बिहिबार तल्लो मुलपानी मैदानमा भएको खेलमा काठमाडौँसँग ७ रनले मकवानपुर पराजित हुनुपरेको थियो ।