रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि ईन्द्रबहादुर बानियाँ ।

हेटौँडाः दीपावलीको अवसर पारेर मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका ९ च्याउँच्याउँमा जेके एफसी कप सुरु भएको छ । बकैयाको जेके फुटवल क्लबको आयोजनामा बिहिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जेके एफसी ‘ए’ ले कान्द्राङ एफसीलाई १०–० गोलअन्तरले पराजित गरेको छ ।

क्लबका अध्यक्ष बीरबहादुर सिन्तानको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । बल हस्तान्तरणपछि उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बानियाँले खेलको माध्यमबाट देशलाई चिनाउने कार्यको सुरुवात भइरहेको बताउनुभयो । क्रिकेट, फुटबललगायत खेलको माध्यमबाट विस्तारै नेपालको नाम चर्चामा आउन लागेको बताउनुहुँदै नेता बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले पनि खेलकुदमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, गाउँपालिकाका निवर्तमान अध्यक्ष दामोदर खनाल, बकैया ९ का वडा अध्यक्ष टंकध्वज लोप्चन, बकैया खेलकुद विकास समितिका संयोजक विजय थिङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कात्तिक १४ गतेसम्म संचालन हुुने प्रतियोगितामा २६ टिमले सहभागिता जनाएको क्लबका अध्यक्ष सिन्तानले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमले क्रमशः नगद ३० हजार र १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।