जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरमा रहेको आप्रवासी स्रोत केन्द्र ।

हेटौँडाः हेटौँडा–१९, नेवारपानीकी सुनिता सिग्देलले वैदेशिक रोजगारीमा गएका पति गुमाएको ८ वर्षपछि बीमा वापतको रकम पाउनुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा भेटिनुभएकी सिग्देलले बीमा वापतको पैसा पाउन निक्कै कष्ट व्यहोर्नुपरेको सुनाउनुभयो । २०७३ साल कात्तिक ३ गते सुनिताका श्रीमान् केदारप्रसाद अर्यालको साउदी अरबको दमाममा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

सुनिताको परिवारले बीमा वापत २९ लाख ९० हजार रुपैयाँ प्राप्त गरेको छ । बिहिबार मात्रै खातामा पैसा आएको सुनिताले जानकारी दिनुभयो । यसअघि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट १३ लाख रुपैयाँ प्राप्त भएको सुनिताले जानकारी दिनुभयो । परिवार र सन्तानको सुखका लागि भनेर कमाउन विदेशिएको २ महिनामै पतिको दुर्घटनामा परी मृत्यु भएको खबर थाहा पाएपछि अचेत बनेकी सुनिता घर, माइती र आफन्तको सहयोगले २ छोरी र १ छोरालाई हुर्काउँदै हुनुहुन्छ । “सबैको साथले सन्तानलाई हुर्काएको छु”, सुनिताले भन्नुभयो, “आफू पनि रोगी भएर उस्तै दुख पाएकी छु । एउटा सानो घर बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।”

श्रीमान्को मृत्यु भएपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त रकमले घडेरी किनेर राखेको र अहिले बीमावापत प्राप्त रकमले त्यही जग्गामा सानो घर बनाउने योजना छ सुनिताको । बीमा वापतको रकम प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको आप्रवासी स्रोत केन्द्रको सहजीकरण महत्वपूर्ण रहेको उहाँको भनाइ छ । “बीमा वापतको रकम प्राप्त गर्न काठमाडौं धाउँदा धाउँदा थाकिसकेको थिएँ”, सुनिताले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयभित्रै रहेको आप्रवासी स्रोत केन्द्रबाटै काम हुने थाहा पाएपछि यहाँ आएँ । उता साउदी अरबमा रहेको दूतावासका अधिकारीले पनि सहयोग गर्नुभयो ।”

आप्रवासी स्रोत केन्द्रकी सूचना तथा परामर्शकर्ता पार्वती बिकले दूतावासका अधिकारीको सहयोगकै कारण सुनिता सिग्देलले बीमा वापतको रकम पाउने अवस्था सिर्जना भएको जानकारी दिनुभयो । यसअघि सन् २०१८ मै बीमा वापतको रकमको चेक तयार भए पनि प्राप्त हुन नसकेको उल्लेख गर्नुहुँदै दूतावासका अधिकारीको सहजीकरणकै कारण ढिलै भए पनि सुनिता सिग्देलले बीमा वापतको रकम पाउनुभएको बिकको भनाइ छ ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका मकवानपुरका १३ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीमा गएका मकवानपुरका ५ जनाको मृत्यु भएको आप्रवासी स्रोत केन्द्रले जानकारी दिएको छ । हेटौँडा–१३ का ३० वर्षीय देवराज थिङ, २७ वर्षीय विक्रम मुक्तान र हेटौँडा–९ का ४५ वर्षीय वेदप्रसाद दाहालको दुवईमा मृत्यु भएको हो भने मनहरी गाउँपालिकाका २८ वर्षीय दीपक थिङ र हेटौँडा–११ का अनिल मुखियाको मलेसियामा मृत्यु भएको आप्रवासी स्रोत केन्द्रकी सूचना तथा परामर्शकर्ता पार्वती बिकले जानकारी दिनुभयो । आप्रवासी स्रोत केन्द्रले विदेश जान चाहनेका लागि आवश्यक जानकारी उपलब्ध गराउनुका साथै विदेशमा अलपत्र परेकाको उद्दार तथा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन, कानुनअनुसार प्राप्त हुने राहत तथा बीमा रकम उपलब्ध गराउन सहजीकरण गर्ने गरेको छ ।