सिमखोलामा निर्माण गरिएको सडक ।

हेटौँडाः हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, सिमखोलामा बाटो मर्मतको कार्य पूरा गरी दुईतर्फी सञ्चालनमा आएको छ । शुक्रबारदेखि काठमाडौंबाट हेटौँडा आउने एकतर्फी बाटो सञ्चालन गरेर मर्मत सुरु गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाटो मर्मतको कार्य पूरा गरी आइतबार साँझबाट दुईतर्फी सवारी आवागमन सुचारु गरिएको छ ।

असोज १० गतेदेखि तीन दिनको अविरल वर्षाका साथै कुलेखानी ड्यामको पानी छाडिएका कारण सिमखोलाको पुलको पहूँचमार्गमा ठूलो क्षति पुगेको थियो । शुक्रबारदेखि सिमखोला खण्ड एकतर्फी गरिएपछि हेटौँडबाट काठमाडौं जाने सवारी साधनले कान्तिलोकपथ, त्रिभुवन राजपथका साथै नारायणगढ–मुग्लिङ खण्डलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न स्थानीय प्रशासनले सूचित गरेको थियो ।