सहयोगापेक्षी सडकमानवलाई उद्दार गर्दै मानवसेवा आश्रमका अभियन्ताहरु ।

हेटौँडाः मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको संयुक्त प्रयासमा मेचि–महाकाली राष्ट्रिय उद्दार अभियानअन्तर्गत छैठौं दिनसम्ममा ६८ जनाको उद्दार गरिएको छ । असोज २७ गते आइतबारबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म ६८ जनाको उद्दार गरिएको मानवसेवा आश्रमले जनाएको छ । उद्दार गरिएका मध्ये १५ महिला र ५३ पुरुष छन् ।

आइतबार उद्दार अभियानको घोषणा गरिएको थियो भने सोमबारबाट उद्दार कार्य सुरु गरिएको थियो । उद्दार कार्य सुरु गरिएको पहिलो दिन झापा जिल्लाबाट १० जना, दोस्रो दिन मोरङ जिल्लाबाट ६ जना, तेस्रो दिन सुनसरीबाट १२ जना, चौथो दिन उदयपुरबाट १६ जना, पाँचौं दिन सप्तरीबाट १३ जना र छैठौं दिन सिराहाबाट ११ जनालाई उद्दार गरिएको मानवसेवा आश्रमका अभियन्ता होमनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

उद्दार गरिएकाहरुलाई नजिकैको मानवसेवा आश्रमको प्रादेशिक तथा जिल्ला शाखाहरुमा राखिएको उहाँले बताउनुभयो । झापाको मेचि पुलबाट आइतबारबाट सुरु गरेको यात्राको टोली शनिबार जनकपुर पुगेको छ । सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्दारका लागि मानवसेवा आश्रमले हरेक वर्ष मेचि–महाकाली राष्ट्रिय उद्दार यात्रा गर्दै आएको छ ।

यस वर्षको उद्दार अभियान करिब एक महिनासम्म चल्नेछ । मानवसेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ साल भित्र नेपाललाई सडकपेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने मानवरहित देश निर्माण गर्ने सङकल्प गरेको छ । उद्दार कार्यमा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मासहित ४७ सदस्यीय टोली खटिएका छन् । मानव सेवा आश्रमले पहिलो वर्ष मेचि–महाकाली अभियानमा ७ सय ५८ जना र गत वर्ष ३ सय ४ जनालाई उद्दार गरेको थियो ।