ललितपुर जिल्लाको क्रिकेट टिम ।

हेटौँडाः बागमती प्रदेशस्तरीय यु–१९ टिम छनोट क्रिकेट प्रतियोगितामा ललितपुर विजयी भएको छ । शनिबार हेटौंडा–४, हुप्रचौरमा भएको खेलमा चितवन जिल्लालाई ललितपुरले ७२ रनले पराजित गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको ललितपुरले ३८ ओभर १ बलमा सबै विकेटको क्षतिमा १ सय २७ रन जोडेको थियो । ललितपुरका हिमाल बोहोराले सर्वाधिक ३२ रन बनाएका थिए । सुदीप चलाउनेले १९ रन बनाएका थिए । जोय थापा मगरले १३ रनको योग्दान दिए । चितवनका रोहन झाले २ विकेट लिए । १ सय २८ रनको लक्ष्य पछ्याएको चितवनले २९ ओभर १ बलमा ५५ रन बनाएर सबै विकेट गुमाउन पुगेको थियो । चितवनका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । चितवनका लागि प्रिन्स पटेल र निकेश गुरुङले समान ९/९ रन जोडेका थिए ।

म्यान अफ द म्याच ललितपुरका राजेश बोहोरालाई ट्रफी हस्तान्तरण गरिँदै ।

बलिङतर्फ ललितपुरका राजेश बोहोराले सर्वाधिक ४ विकेट लिए । यस्तै संगम सेढाइले ३ विकेट लिए । म्यान अफ द म्याच ललितपुरका राजेश बोहोरा घोषित भए । उनलाई बागमती प्रदेश क्रिकेट संघका सदस्य सुजन महर्जनले ट्रफी हस्तान्तरण गर्नुभयो । प्रतियोगिता अन्तर्गत आइतबार हेटौँडामा हुने अन्तिम छनोट खेलमा मकवानपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट र चितवन गरी ६ जिल्लाको सहभागिता रहेको छ ।