हेटौंडाः हेटौंडामा जारी बागमती प्रदेशस्तरीय यु–१९ टिम छनोट क्रिकेट प्रतियोगिताको खेलमा चितवन जिल्ला विजयी भएको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा भएको खेलमा मकवानपुरलाई २ रनले हराउँदै चितवन विजयी भएको हो ।
शुक्रबार भएको प्रतियोगिताको तेस्रो दिनको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ३५ ओभर ४ बलमा सबै विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । चितवनका लागि सूर्यान्स कोइरालाले ७२ बलमा अविजीत रहँदै सर्वाधिक ५३ रन बनाएका थिए । विशाल खत्रीले २९ बलमा २६ रन बनाए । सुगम ढुंगाना २८ बलमा र प्रिन्स पटेलले २३ बलमा ८/८ रन बनाएका थिए । बलिङतर्फ मकवानपुरबाट गोकुल अधिकारीले ५ ओभर ४ बलमा १३ रन दिँदै ६ विकेट लिएका थिए । कृष्णकुमार यादव ८ ओभरमा २१ रन र राजा अहमदले ७ ओभरमा ३२ रन दिँदै सामान १/१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको मकवानपुरले ३३ ओभरमा १ सय ३१ रन बनाउँदै अल आउट हुन पुगेको थियो । मकवानपुरका गौरव खड्काले ४० बलमा ४० रन बनाएका थिए । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए । आशिक अधिकारीले २८ बलमा १५ रन बनाएका थिए । गोकुल अधिकारी, अरविन यादव, रोहित ठाकुर र राजा अहमदले भने समान १०/१० रन बनाएका थिए । चितवनबाट बलिङतर्फ ८ ओभरमा २४ रन दिँदै ३ विकेट लिएका थिए । विशाल खत्रीले ८ ओभरमा ३३ रन दिँदै २ विकेट लिएका थिए । मन्दिप खड्काले ३ ओभर ४ बलमा २४ रन र मन्दिप बरालले ८ ओभरमा ३० रन दिँदै समान २/२ विकेट लिएका थिए ।
म्यान अफ द म्याच मकवानपुरका गोकुल अधिकारी घोषित भएका छन् । उनलाई जिल्ला क्रिकेट संघका कोषाध्यक्ष तथा प्रादेशिक टिम छनोट प्रतियोगिताका संयोजक धिरज श्रेष्ठले म्यान अफ द म्याचको ट्रफी हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा चितवन जिल्ला र ललितपुर महानगरपालिकाको टिमबीच हुनेछ । हेटौंडामा प्रतियोगिताको अन्तिम खेल कार्तिक ४ गते हुनेछ । प्रतियोगितामा मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट र चितवन गरी ६ जिल्लाको सहभागिता रहेको छ ।
