Home मुख्य समाचार प्रदेश लोकसेवा आयोगका सदस्य ढकालले दिए राजीनामा

प्रदेश लोकसेवा आयोगका सदस्य ढकालले दिए राजीनामा

हेटौंडाः आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाउने तयारी गरेको भन्दै बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिनुभएको छ । उहाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर शुक्रबार राजीनामा बुझाउनु भएको हो ।

११ कार्तिकबाट लागू हुने गरी ढकालले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क) अनुसार राजीनामा बुझाउनु भएको छ । आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्ष बनाउने तयारी भएपछि पदबाट राजीनामा दिएको उहाँको भनाइ छ । प्रदेश सरकारले सहसचिव स्तरको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनाउन लागेको उहाँले दाबी गर्नुभयो ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आफूलाई आयोगका सदस्य ढकालले राजीनामा दिएको विषयमा कुनै जानकारी नभएको बताउनुभयो । उहाँले आयोगको अध्यक्ष नियुक्तिको विषय पनि आफूलाई जानकारी नभएको दाबी गर्नुभयो । उहाँले आयोगको अध्यक्ष नियुक्त गर्ने विषयमा छलफल भने भइरहेको जानकारी दिनुभयो । प्रदेशका मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सदस्य रहेको ३ सदस्यीय समितिले आयोगको अध्यक्ष नियुक्त गर्ने भएकाले आफूलाई त्यसबारेमा वास्तविकता थाहा नभएको उहाँको भनाइ छ ।

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका पूर्वनिर्देशक महेश्वर श्रेष्ठलाई आयोगको अध्यक्ष बनाउने तयारी भएको छ । स्रोतका अनुसार अध्यक्षमा श्रेष्ठको नाम फाइनल भइसकेको र एक दुई दिनमै नियुक्ति गर्ने तयारी गरिएको छ ।

Exit mobile version