हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले सूचनाको हकसम्बन्धी अन्तरक्रियाको आयोजना गरेको छ । आइतबार हेटौँडामा आयोजित अन्तरक्रियामा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सूचना अधिकारीको सहभागिता रहेको थियो ।
सूचनाको हक प्रयोग गरी एउटै व्यक्तिले अधिकांश सहकारीमा सूचना माग गर्ने गरेको र त्यसरी सूचना माग गर्दै गर्दा सूचनाको हकअनुसार कसरी सूचना दिनुपर्छ भन्ने विषयमा जानकारी गराउन, सूचनाको हकको आधारभूत अवधारणा समेत बुझाउने गरी अन्तरक्रियाको आयोजना गरिएको संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । सूचना माग गर्ने व्यक्तिले गलत नियतले र असान्दर्भिक सूचना माग गर्ने गरेको, माग गरेको सूचना उपलब्ध गराउन नै नसकिने किसिमको समेत भएको उहाँको भनाइ थियो ।
संघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले सूचनाको हकसम्बन्धी प्रस्तुती राख्नुभएको थियो । उहाँले सूचना माग गरेको विषयलाई लिएर नआत्तिन र सम्भव भएसम्मका सूचना दिन आग्रह गर्नुभयो । उहाँले सूचनाको माग गर्ने व्यक्तिले अस्वभाविकरुपमा सूचनाको माग गरेको देखिए आयोगले सूचना दिनका लागि पुनरावेदन नगर्न समेत सक्ने उल्लेख गर्नुहुँदै सूचनाको हकसम्बन्धी कुनै किसिमको गुनासा भए आयोगमै पुगेर आफ्ना कुरा राख्न सकिने स्पष्ट पार्नुभएको छ ।