मकवानपुरको कैलाश गाउँपालिकाले कार्यपालिकाको बैठकले २० वटा प्रस्तावहरु माथि छलफल गरी निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तानको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गाउँपालिकाका गतिविधिहरु र समसामयिक विषयहरुमा छलफल गरेर निर्णय गरेको हो । गाउँपालिकाले विभिन्न शिर्षकहरुमा भएको खर्चको भुक्तानी गर्ने निर्णय गरेको छ ।

कार्यपालिका बैठकबाट सूचना प्रकाशन÷प्रसारण गरेका मिडियाहरुलाई रकम भुक्तानी गर्ने निर्णय गरेको छ । बैठकले सवारी मर्मत रकम भुक्तानी, वृत्तचित्र निर्माणको रकम भुक्तानी, खेलमैदान व्यवस्थापनको लागि मकवानपुर जिल्ला फुटबल संघलाई रु १ लाख रकम प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यपालिका बैठकले भार्ता–खैराङ सडकखण्डमा पर्ने कालीखोलामा पक्की पुल निर्माणका लागि डिपिआर तयार गर्न ४ लाख ९७ हजार ७ सय ५५ रुपैयाँ रकम भुक्तानी गर्ने निर्णय गर्नुको साथै कैलाश-८ र राक्सिराङ-४ जोडने पक्की पुल निर्माणका लागि ५ लाख भुक्तानी गर्ने निर्णय गरेको छ । गाउँपालिकाले स्वास्थ्य र शिक्षाको कामहरुको रकम भुक्तानी गर्ने भएको छ । गाँउपालिकाबाट चालु आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का मार्फत भएका ३ वटा योजनाहरु लकडाउन र विविध कारणले सम्पन्न नभएकाले म्याद थप गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले विभिन्न शिर्षकहरुमा नपुग रकम अन्य सेवा शुल्क शीर्षकबाट उपलब्ध गराउने निर्णय गरेको छ । विपद् व्यावस्थापन कोषमा रकम अभाव हुने समस्यालाई समाधान गर्न सम्भाव्य स्रोतबाट वचत हुने रकम विनियोजन गर्ने भएको छ । गाउँपालिकाको चुनियाँ, नामटार र कालीकाटार सडकखण्डमा वर्षातले गर्दा विभिन्न ठाउँमा सडक खाल्डो हुनुको साथै क्षति पुगेको ठाउँको मर्मतको रकम विपद् व्यवस्थापन कोषबाट भुक्तानी गर्ने निर्णय गरेको छ । कैलाश गाउँपालिकाको प्रशासनिक भवन यही जेठ १५ गते जलेकोले वडा नम्बर ३ को छतिवनमा नयाँ भवन बनाउने भएको छ ।

गाउँपालिकाको कार्यपालिका बैठकले सो निर्माणका लागि ५ लाख यस वर्ष प्राप्त हुने गरी बहुवर्षीय योजनाको सिलवन्दी दरभाउपत्रको माध्यमबाट सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकमा गाउँपालिकाका अध्यक्ष टंक बहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ लगायत सम्पूर्ण कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।