सोमबार जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनुभएका प्रहरी उपरीक्षक खड्कालाई स्वागत गर्दै ।

हेटौँडाः मकवानपुरमा प्रहरी प्रमुख फेरिएसँगै तस्कर पक्राउ पर्न थालेका छन् । सामान्यतः प्रहरी प्रमुख फेरिएसँगै तस्करहरु पक्राउ पर्ने क्रम तीव्र हुन्छ भने क्रमशः तस्कर पक्राउ पर्ने क्रम रोकिन थाल्छ । मकवानपुरमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले सोमबार जिम्मेवारी सम्हाले लगत्तै मंगलबार एकैदिन सुन तस्कर र लागुऔषध तस्कर ३ जना पक्राउ परेका छन् ।

मंगलबार ६७ लाख ३४ हजार रुपैयाँ बराबरको अवैध सुनसहित मकवानपुर प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट प्रहरीले अवैध सुनसहित भारतीय नागरिक पक्राउ गरेको हो । मकवानपुर प्रहरीले मंगलबार नै लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले ३ केजी २३६ ग्राम गाँजासहित मकवानपुरको कैलाश गाँउपालिका–२ का २३ वर्षीय तुलराम डिमडुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार राती १० बजेर १० मिनेटको समयमा थाहा नगरपालिका–९, चित्लाङमा सवारी साधनहरु रोकी सुरक्षाजाँज गर्ने क्रममा थाहा नगरपालिकाको डाँडाबासबाट काठमाडौंतर्फ जादै गरेको ना ७ ख २५२ नम्बरको यात्रुबाहक बसमा सवार डिमडुङलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । डिङडुङलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद लिएको जनाएको छ ।

मकवानपुर प्रहरीले लागुऔषध ओनरेक्ससहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–८ का ३४ वर्षीय शंकर तितुङ रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार बिहान ४ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौैंंडा–१५, रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ८१८१ नम्बरको यात्रुबाहक बसमा सवार तितुङको साथबाट लागुऔषध ओनरेक्स बरामद भएको हो । प्रहरीले तितुङको साथबाट ओनरेक्स १ सय एमएलको १५ बोतल फेला पारेको जनाएको छ । लागुऔषधसहित तितुङलाई हिरासतमा राखी अनुसन्धान तथा कारवाही अगाडि बढाउन मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद पाएको प्रहरीले जनाएको छ ।