भाषा कक्षामा सहभागीलाई प्रमाणपत्र वितरण गरिँदै ।

हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले विद्यार्थीका लागि सञ्चालन गरेको ४२ घण्टे अंग्रेजी भाषा क्षमता विकास कक्षा सकिएको छ । भदौ २८ गतेबाट सुरु गरिएको कक्षा बुधबार समापन गरिएको हो । भाषा कक्षामा स्नातक तहका ५० जना विद्यार्थीको सहभागिता रहेको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षता तथा क्याम्पसका निवर्तमान अध्यक्ष, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो ।

अंग्रेजी भाषा विशेष कक्षाले विद्यार्थीको भाषामा दखल बढ्नुका साथै आत्मविश्वास र व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास क्याम्पस प्रशासनको छ । विश्वविद्यालय तहको पाठ्यक्रमसँगै विद्यार्थीको व्यक्तित्व, सीप, ज्ञान र दक्षता अभिवृद्धि गर्ने कार्यक्रम नियमित सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिनुभएको छ । भाषा कक्षामा सहभागी विद्यार्थीले लाभदायक भएको प्रतिक्रिया दिएका छन् । ४२ घण्टे भाषा कक्षाको पाठ्यक्रम क्याम्पसले नै तयार पारेर सञ्चालन गरेको हो ।

भाषा कक्षामा शिक्षा शास्त्र संकायका प्रमुख डा. लोकराज शर्मा र उपप्राध्यापक सुमार्गी हुमागाईले सहजीकरण गर्नुभएको थियो । भाषा कक्षाको समापन समारोहमा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्य, सदस्य बद्रिप्रसाद लम्साल, डा. कृष्ण धितालको पनि आतिथ्य रहेको थियो । सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।