मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको हेटौँडा–१, चौकीटोलस्थित कार्यालय परिसरमै दुग्धजन्य पदार्थ बिक्री केन्द्र ।

हेटौँडाः मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुग्धजन्य पदार्थको मूल्य घटाएको छ । चाडपर्वलाई लक्षित गरेर संघले आफ्नो उद्योगबाट उत्पादन भएको नौनीमा प्रतिकेजी ७५ रुपैयाँ छुट दिएको छ । भदौ २८ गतेदेखि लागु हुने गरी संघले नौनी प्रतिकेजी ८७५ रुपैयाँमा बिक्री गर्न सुरु गरेको छ । साविक ९५० रुपैयाँ केजीको नौनीमा प्रतिकेजी ७५ रुपैयाँ छुट दिएको हो ।

यस्तै संघले पनिरमा पनि प्रतिकेजी ५० रुपैयाँ छुट दिएको छ । साविक प्रतिकेजी ७५० रुपैयाँमा बिक्री गरिरहेको पनिर संघले प्रतिकेजी ७०० रुपैयाँमा बिक्री गर्न सुरु गरेको छ । भदौ अन्तिमदेखि संघले थोक बिक्री पनि सुरु गरेको छ । थोक विक्रेतालाई प्रत्यक्ष उपभोक्तालाई भन्दा केही सहुलियत गरेको छ । मूल्य समायोजन तथा थोक बिक्री सुरु गरेसँगै दुग्धजन्य पदार्थको बिक्री बढेको संघले जनाएको छ ।

संघका व्यवस्थापक दामोदर अधिकारीकाअनुसार भदौ अन्तिम सातादेखि थोक बिक्री खुला गरेयता करिब ३० लाख रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ बिक्री भइसकेको छ भने खुद्रातर्फ पनि पछिल्लो एक महिनामा १५ लाख भन्दा बढीको बिक्री भइसकेको छ । मूल्य समायोजन गर्नुअघि संघको बिक्री केन्द्रबाट मासिक करिब १० लाखको दुग्धजन्य पदार्थ बिक्री हुने गरेको थियो ।

संघले जिल्लाभरका किसानले चिस्यान केन्द्रमा बिक्री गरेको दुध संकलन गरेर उद्योगहरुलाई बिक्री गर्नुका साथै आफैंले उद्योग स्थापना गरी दुग्धजन्य पदार्थ विक्री गर्दै आएको छ । संघका व्यवस्थापक दामोदर अधिकारीका अनुसार संघले स्थापना गरेको उद्योगको उत्पादन प्रवद्र्धन गर्न हेटौँडा बजारमा व्यवस्थित बिक्री केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले दैनिक करिब ४३ हजार लिटर दुध संकलन गरी उद्योगहरुलाई विक्री गर्दै आएको छ ।