अनुपम घलानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विद्यार्थीहरु ।

हेटौँडाः गत शनिबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका अनुपम घलानप्रति उनका साथीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरी एन्फा एकेडेमीमा आवद्ध भई सिस्नेरी पुगेका घलानलाई उनका साथीहरुले सम्झिएर बुधबार विद्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरेका हुन् ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका ९ कक्षाका विद्यार्थीको अग्रसरतामा विद्यालयका सबै विद्यार्थीले अनुपमप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली सभा ९ कक्षाकी छात्रा खुसी खातुनले सञ्चालन गर्नुभएको थियो । विद्यार्थीको सक्रियतामा भएको कार्यक्रममा शिक्षकहरुले सहयोग गरेका थिए । २ कक्षामा आधुनिक राष्ट्रिय माविमा भर्ना भएका अनुपम ८ कक्षा उत्तीर्ण भएपछि अनुपम यसै वर्षदेखि सिस्नेरीमा एन्फा एकेडेमीमा भर्ना भएका थिए । आधुनिक राष्ट्रिय माविमा भर्ना हुनुअघि अनुपम हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा अध्ययन गर्दथे ।

अनुपमसहित सिस्नेरी एन्फा एकेडेमीमा आवद्ध ६ जना विद्यार्थीको पहिरोमा परी ज्यान गएको थियो । ज्यान जाने ६ जना मध्ये मकवानपुरकै ३ जना थिए । मकवानपुरका अनुपमसँगै सिस्नेरीकै दिवस बानियाँ र मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको पहिरोमा परी मृत्यु भएको थियो ।