Home अन्तरवार्ता “प्रविधिको प्रयोग गरेर हामीले आयोगको तयारी गराइरहेका छौं”

“प्रविधिको प्रयोग गरेर हामीले आयोगको तयारी गराइरहेका छौं”

होम बहादुर नेपाली, प्रशिक्षक, शिक्षक सेवा आयोेग तयारी कक्षा

सरकारी विद्यालयको स्थायी शिक्षक हुन पछिल्लो समय आकर्षण बढेको देखिन्छ । शिक्षक सेवा आयोगले नियमित परीक्षा सञ्चालन गरेसँगै शिक्षण पेशामा लाग्न चाहनेले परीक्षामा सहभागी हुन पर्याप्त तयारी गर्ने गरेका छन् । आयोगको परीक्षाको तयारीका लागि विभिन्न संघ, संस्थाले तयारी कक्षा सञ्चालन गर्दै आएको छ । आयोगको तयारी कक्षा, आयोगको तयारी गर्दै गर्दा ध्यान दिनुपर्ने कुरा र युवा पुस्ता विद्यालयका स्थायी शिक्षकको रुपमा प्रवेश गरेपछि विद्यालयमा भएका सुधारको विषयमा रहेर आयोगको तयारीका लागि सहजीकरण गराउँदै आउनुभएका हेटौँडा–१८, गोरक्षनाथ माविका शिक्षक होमबहादुर नेपालीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः शिक्षक सेवा आयोगको तयारीमा रहन चाहनेहरुका लागि नियमित पठनपाठनको हिसाबले तपाईंहरुले कसरी सहजीकरण गरिरहनुभएको छ ?
नेपालीः हामीले शिक्षक सेवा आयोग र लोकसेवा आयोगका विभिन्न कक्षाहरु सञ्चालन गरिरहेका छौं । विशेषगरी शिक्षक सेवा आयोगको तयारीमा जोडिनुभएका साथीहरु, जो शिक्षा क्षेत्रमा प्रवेश गर्न चाहनुहुन्छ, उहाँहरुका लागि कक्षा सञ्चालन गर्दछौं । अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिन चाहनेहरुले लाइसेन्स परीक्षाको तयारी गर्नुहुन्छ र लाइसेन्स भएकाहरुले शिक्षक सेवा आयोगकै प्रतिस्पर्धाका लागि तयारी गर्नुहुन्छ । हामीले अहिले लाइसेन्स लिने साथीहरुका लागि तयारी कक्षा गराइरहेका छौं । दैनिक ३ वटा कक्षा सञ्चालन हुन्छ ।
हामीले अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छौं । त्यसमा पनि हामीले नयाँ प्रविधिबाट अगाडि बढेका छौं । हामीले विद्यार्थीलाई लाइभ कक्षा र लाइभ कक्षाको रेकर्डवाला भिडियो पनि उपल्बध गराउँछौं । यी सबै कुरा एप्लिकेसनमार्फत् हुन्छ । हामीले पठाएको भिडियो कति हेरिरहनुभएको छ ? परीक्षामा कति सहभागी हुनुभएको छ ? र पढाइमा कति सहभागी हुनु भइरहेको छ ? भन्ने कुराको ट्रयाक गर्नुपर्छ भन्ने हिसाबले नयाँ कुरामा आधारित भएर कक्षा सञ्चालन गरिरहेका छौँ । सबै कक्षा हाम्रो स्टुडियोबाट सञ्चालन हुन्छ । हरेक शनिबार सबै कक्षा गर्नेका लागि नमूना परीक्षामार्फत् उहाँहरुको तयारीलाई मूल्याङ्कन गरिरहेका छौं ।

समाजः अहिलेको उपलब्धताको हिसाबले सूचना प्रविधि माध्यमबाट सबै भर्चुअल कक्षा सञ्चालन गरिरहनुभएको छ ?
नेपालीः सूचना प्रविधिलाई अत्याधिक प्रयोग गर्ने गरेका छौं । किनकि भविष्यमा उहाँहरु शिक्षक हुनु भएपछि र सेवामा प्रवेश गरिसकेपछि सूचना प्रविधिमार्फत् सेवा प्रवाह गर्दा अझ बढी प्रभावकारी हुन्छ भन्ने कुरा अहिलेबाट उहाँहरुलाई ज्ञान होस् भन्ने हिसाबले प्रविधिमा समावेश गराउने प्रयास गरिरहेका छौं ।

समाजः विद्यार्थीको भर्ना गर्न, शुल्क उठाउन र नियमित उपस्थितिको अनुगमन गर्न कति सहज रहेको छ ?
नेपालीः
यसको पनि दुई वटा कुरा छ– फाइदा र बेफाइदा । तर हामीलाई चाहिँ के लाग्छ भने विद्यार्थीलाई भौतिकरुपमा कक्षामा उपस्थित गराइरहँदा पहुँचको कुरा एउटा भयो । भौतिक कक्षा महंगो पनि भयो । एउटा कक्षामा थोरै विद्यार्थी राख्नु एउटा सिमितता रह्यो । त्यसले गर्दा प्रशिक्षकको समय उत्ति नै हुनेभयो । शुल्क अलि महंगो हुने कारणले गर्दा भौतिक कक्षामा अधिक शुल्क भुक्तानी गर्नुपर्ने कारणले विद्यार्थीलाई अनलाइनमा जोड्दा सस्तो पर्ने भयो । उहाँहरुले आफ्नो समय बचत गर्नुभयो । कक्षामा आउने र शिक्षकलाई कुर्ने सयमको बचत पनि भयो आफ्नो घरमा बसेर उहाँहरुले गुरुहरुसँग अध्ययन गर्न पाउनुहुने भयो । पहुँचको हिसाबले भौतिकभन्दा अत्यधिक सस्तो छ । ३ महिनाभन्दा बढी लाइसेन्स परीक्षाको तयारी कक्षाको हामीले २ हजार रुपैयाँ शुल्क निर्धारण गरेका छौं ।

समाजः एउटा अनलाइन कक्षामा बढीमा कति र न्यूनतम कति सहभागी भइरहनुभएको छ ?
नेपालीः
हामीसँग राम्रो नम्बरमा विद्यार्थी संख्या छ । जुम एप्लिकेसनमार्फत् हाम्रो कक्षा सञ्चालन हुने गरेको छ । एउटा कक्षामा २ हजारभन्दा बढी विद्यार्थीहरुलाई सहभागी गराउने गरेका छौं र हामी उहाँहरुको कुरा पनि सुन्छौं । धेरै विद्यार्थी भएपछि के हुन सक्छ भने विद्यार्थीसँग अन्तरक्रिया विद्यार्थीहरुको च्याटमार्फत् हुन्छ ।

समाजः भर्चुअलरुपमा अन्तरक्रिया गर्दा कति सहज हुन्छ ?
नेपालीः
विद्यार्थीसँगको अन्तरक्रिया अलि कम हुन्छ, फिजिकल भन्दा । तर, त्यसको अर्थ उहाँहरुको मनमा जागेको कुराहरुचाहिँ हामी फेरि समाधान गरिरहेका हुन्छौं, कुनै न कुनै माध्यमबाट ।

समाजः अनलाइन माध्यमबाट यो खालको अभियान चलाउन थाल्नुभएको कति समय भयो ?
नेपालीः
हामीले सुरु गर्दा मेडिकल इन्ट्रास तयारीबाट सुरु गरेको हो । एकेडेमिक स्टडीबाट सुरु गरेको हो । हामीले अन्तिम वर्षबाट शिक्षक सेवा र लोक सेवालाई गरौं भनेर पहिलो ब्याच गएको वर्ष र अहिले दोस्रो ब्याच रहेको छ ।

समाजः तपाईंहरुको अनुभवमा नवनियुक्त हुनुभएको र तपार्इंहरुसँग सम्पर्कमा आउनुभएको शिक्षकहरुको प्रतिक्रिया कस्तो रहन्छ ?
नेपालीः
हामीले सबै साथीहरुलाई अल्मुनायीमार्फत् जोड्छै र अनुभव आदानप्रदान गर्छाैं । उहाँहरुको केहि निराशाहरु पनि छन् । जस्तो कि, विद्यालयमा नियुक्त भएर पुग्नासाथ पार्टी दिनुपर्ने । शिक्षक साथीहरुले परिवर्तन ल्याउन जरुरी छ । यो सेवा हो । यसलाई जागिर नसोचौँ र नयाँ सोचको विकास गरौँ ।

समाजः एउटा विद्यार्थीले शिक्षक सेवा तयारी गर्नुपूर्व आफूलाई के के कुराले तयार पार्नुपर्छ ?
नेपालीः
सबैभन्दा ठूलो कुरा भनेको स्वउत्प्रेरित हुनुुपर्छ । अनि पारिवारिक साथको पनि धेरै आवश्यक पर्छ । कक्षामा बस्दा लगातार ५ घण्टासम्मको पनि कक्षा हुन सक्छ ।

Exit mobile version