हेटौंडामा ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु ।

हेटौंडाः हेटौंडामा ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबारबाट हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा हर्नामाडीको कमलादेवी युवा क्लबले विजयी सुरुवात गरेको छ । कमानेको द क्रास क्लबलाई २–१ गोलले हराउँदै हर्नामाडीको कमलादेवी क्लबले विजयी सुरुवात गरेको हो । कमलादेवीको जीतमा अभिषेक रोक्काले २ गोल गरेका हुन् । उनले खेलमा पहिलो हाफको १५ औं मिनेटमा र दोस्रो हाफमा अतिरिक्त सयमको २ मिनेटमा एक–एक गोल गर्दै दुई गोल पूरा गरेका हुन् । द क्रासका निराजन मगरले दोस्रो हाफको २ मिनेटमा एक गोल गरेका थिए ।

सोमबारै भएको दोस्रो खेलमा चौकीटोल युथ क्लबले टाइब्रेकरमा जाँते क्लबलाई ७–६ गोलले हराउँदै विजयी सुरुवात गरेको छ । खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा रोकिएपछि नतिजाको लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । टाइब्रेकरमा चौकीटोलका राजु लामाले प्रहार गरेको बल सातौं गोलमा परिणत हुँदै विजयी भएको हो । म्यान अफ द म्याच राजु लामा घोषित भएका छन् ।
भुटनदेवी क्लबका अध्यक्ष राजु विष्टको सभाध्यक्ष तथा आशीष श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिता सुरु भएको हो ।

बत्सलादेवी माध्यमिक विद्यालय, सिस्नेरीको एन्फा एकेडेमीका विद्यार्थीहरुको दुःखद् निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेर प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको उद्घाटन भव्य तारिकाले गर्ने योजना रहे पनि पहिरोमा ज्यान गुमाएका खेलाडीहरुलाई श्रद्धाञ्जली व्यक्त गरेर प्रतियोगिता सुरु गरेको हो ।

प्रतियोगिताका संयोजक सेजन खड्गीको संयोजकत्वमा भएको प्रतियोगितामा २३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असोज २० गते हुनेछ । गतवर्ष ८ ‘ए’ साइडमा प्रतियोगिता आयोजना गरेकोमा क्लबले यसवर्ष ७ ‘ए’ साइडमा प्रतियोगिता आयोजना गरेको हो ।