रेलमा मुक्तकसंग्रह विमोचन गरिँदै ।

हेटौँडाः साहित्यकार डीबी बर्तौलाको मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ सोमबार रेलयात्राका क्रममा विमोचन गरिएको छ । छिमेकी मुलुक भारत भ्रमणका क्रममा सत्याग्रह एक्सप्रेसमा मुक्तकसंग्रह विमोचन गरिएको हो । गत शनिबार हेटौँडामै विमोचनको तयारी गरिए पनि वर्षासँगै मुलुकमा ठूलो जनधनको क्षति भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

रेलयात्राको क्रममा अग्रज साहित्यकार रमेशमोहन अधिकारी, हयग्रीव आचार्यलगायतले एकसाथ मुक्तकसंग्रह विमोचन गर्नुभएको हो । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष तथा मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष समेत रहनुभएका बर्तौलाको यो तेस्रो कृति हो । रेल यात्रामा मकवानपुरसहित बारा, कपिलवस्तु तथा भारतका साहित्यकार, साहित्य अनुरागीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकार मिथिला अधिकारी, बाराका साहित्यकार अप्सरा पुडासैनी, विष्णुप्रसाद गौतम, माधव पोखरेल र राजबाबु पहाडीले ‘उज्यालोका बाछिटा’ मुक्तक सङ्ग्रहबाट मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रममा मुक्तककार डीबी बर्तौलाले अनौठो र पृथक रूपमा मुक्तक सङ्ग्रह विमोचन भएकोमा खुसी व्यक्त गर्नुभयो । साहित्यकार हयग्रीव आचार्यले मुक्तकसङ्ग्रह ‘उज्यालोका बाछिटा’ को समीक्षा गर्नुहुँदै रेलमै कृति विमोचनको नौलो र फरक अभ्यास भएको बताउनुभयो । मुक्तककार बर्तौलाले उखानको प्रयोग गरी जम्मा ९२ वटा मुक्तकभित्र राजनीतिक, सामाजिक विषयवस्तुमाथि तीखो व्यंग्य प्रहार गरेको आचार्यले बताउनुभयो । फरक स्वाद र तीव्र व्यंग्य साथै हास्य भावको प्रयोग गर्नु र प्रत्येक मुक्तकमा उखानको प्रयोग हुनु आफैंमा नौलो प्रयोग रहेको पाइएको कुरा बताउनुभयो ।

साहित्यकार रमेशमोहन अधिकारीले ११ दिने साहित्यिक यात्रा गर्ने क्रममा जुरेको यो अनौठो र ऐतिहासिक तरिकाले मुक्तककार डीबी बर्तौलाको ‘उज्यालोका बाछिटा’ विमोचन तथा वाचन कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । अघिल्ला कृतिभन्दा उत्कृष्ट भएको अधिकारीले दावी समेत गर्नुभएको छ ।