सहकारीको साधारणसभा उद्घाटन गर्नुहुँदै उपप्रमुख राजेश बानियाँ ।

हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साढे ३० करोड रुपैयाँ बचत संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा सहकारीको बचत ३० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको थियो । शनिबार सहकारीको २३ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष शशिकर पाण्डेले प्रस्तुत गर्नुभएको विवरणअनुसार १० हजार ९ सय ४४ बचतकर्ताबाट बचत संकलन गरिएको छ ।

तीन हजार चार सय ७१ जना सेयर सदस्यको सेयर पुँजी तीन करोड ४३ लाख ८७ हजार रुपैयाँ रहेको कोषाध्यक्ष पाण्डेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले २८ करोड ९ लाख ४२ हजार रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीकी अध्यक्ष जानकी चौधरीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको साधारणसभामा वडा अध्यक्ष सुशील घिमिरे, सहकारीका संस्थापक अध्यक्ष पूर्णबहादुर खनाल, निवर्तमान अध्यक्ष रणबहादुर कार्कीको पनि आतिथ्य रहेको थियो ।

सहकारीले साधारणसभाको अवसरमा पूर्वसञ्चालक, उत्कृष्ट बचतकर्ता, ऋणी, सदस्यको परिवारबाट शिक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी, ज्येष्ठ सदस्यलाई सम्मान गरेको व्यवस्थापक प्रकाश बहादुर खनालले जानकारी दिनुभएको छ । सहकारीले सेयर सदस्यलाई सुत्केरी स्याहार खर्च, सदस्यका परिवारलाई मृत्यु राहत खर्च, उपचार खर्च समेत प्रदान गर्ने गरेको छ । गत आर्थिक वर्षको कारोबारबाट विद्यमान आर्थिक मन्दीका बीच पनि सेयर सदस्यलाई १० दशमलव ५० प्रतिशत लाभांस वितरण गरिने बताइएको छ ।