Home अर्थ/व्यापार “हेटौँडामा टाउन हलको अभाव छ, गौरिटार रंगशाला निर्माण हुँदा पर्यटनमा टेवा पुग्छ”

“हेटौँडामा टाउन हलको अभाव छ, गौरिटार रंगशाला निर्माण हुँदा पर्यटनमा टेवा पुग्छ”

भागिरथ शर्मा खरेल संस्थापक अध्यक्ष, होटल एसोसिएसन मकवानपुर/सञ्चालक, होटल एभोकाडो एण्ड अर्किड रिसोर्ट

सन्दर्भः ४५औं विश्व पर्यटन दिवस
मकवानपुर जिल्ला देशकै मध्य भागमा रहेको जिल्ला हो । हेटौँडा देशकै सुन्दर सहरहरु मध्येको एक हो । मकवानपुर जिल्लामा पर्यटनको विकासमा हामी लामो समयदेखि काम गर्दै आएका छौं । मकवानपुर जिल्ला देशको मध्यभागमा भएको, हावापानी राम्रो भएकोले यहाँ पर्यटक आकर्षित हुन सक्छन् । यहाँ आएर २/३ दिन बस्नै पर्नेजस्तो आकर्षक क्षेत्र देखिन्न । एकदिनका लागि प्राकृतिक स्रोत, मठमन्दिरहरु छन् जसले पर्यटकलाई आकर्षित गर्न सक्छ ।

हामी निर्माणाधिन गौरिटार रंगशाला निर्माण सम्पन्न भएपछि मकवानपुर जिल्लाको पर्यटनमा टेवा पुग्ने अपेक्षामा छौं । गौरिटार रंगशालाको निर्माण कार्य सम्पन्न भइसक्दा खेल पर्यटनको सम्भावना राम्रो हुने अपेक्षा गरेका छौं । हेटौँडामा टाउन हलको पनि जरुरी छ । तीन हजार हाराहारी मान्छे अटाउने टाउन हल हुने हो भने देशभरका प्रतिनिधि आएर गोष्ठी, सेमिनार, भेला जस्ता कार्यक्रम हुने थिए । त्यसले पर्यटनको विकासमा सहयोग गर्छ ।

टाउन हल निर्माणमा निजी क्षेत्रले लगानी गर्न सक्ने अवस्था छैन । निजी क्षेत्रले लगानी गरेर आम्दानी गर्ने अवस्था नभएकोले टाउन हल निर्माणमा राज्यले नै लगानी गर्नुपर्छ । मकवानपुरको पर्यटन प्रवद्र्धनमा हामी व्यवसायीले उल्लेखनीय काम गर्न सकिरहेको छैनौं । ट्राभल टुरका योजना बनाउन सकेका छैनौं । छिमेकी मुलुक भारतको सिमावर्ती क्षेत्र रक्सौल लगायतका क्षेत्रबाट पर्यटक ल्याउन सक्छौं । पटन, मुजफ्फरपुरका नागरिकलाई आकर्षित गर्न सक्यौं भने पर्यटनको सम्भावना रहन्छ ।

हामी व्यवसायीले निजामति र शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन आउनेलाई सक्दो सेवा गरेका छौं । होटलका आआफ्ना स्तरअनुसारको कोठाहरु छन् । हामीले सक्दो व्यवस्थापन गरेका छौं । सुपथ मूल्यमा सेवा प्रदान गरिरहेका छौं । यसमा केही गुनासाहरु छन् । त्यसलाई हामी व्यवसायीहरुले स्वीकार्ने र सुधार्ने प्रयास गरेका छौं ।

यतिबेला मकवानपुरका होटल व्यवसायी घाटामा छन् । आर्थिक मन्दीकै कारण व्यवसायी प्रत्यक्ष मारमा छन् । आज विश्व पर्यटन दिवसको अवसरमा भारतको सीमावर्ती क्षेत्रबाट आउने भारतीय पर्यटकलाई स्वागत गरेर मनाउँदै छौं । हामी अब हेटौँडामा बस्ने पाहुनालाई मनहरी हुँदै चितवन राष्ट्रिय निकुञ्ज, बारा जिल्ला क्षेत्रको भ्रमण गराउने र बसाई लम्ब्याएर सेवा प्रदान गर्दै आम्दानी, रोजगारीको अवसर बढाउने, लगानी बढाउने प्रयासमा छौं । म फेरि पनि भन्न चाहान्छु गौरिटार रंगशाला निर्माण सम्पन्न हुने र राज्यकै तर्फबाट सुविधासम्पन्न टाउनहल निर्माण गर्ने हो भने मकवानपुरमा पर्यटनको विकास गर्न सकिन्छ । पर्यटनमार्फत मकवानपुर जिल्लाको आर्थिक एवम् समग्र विकासमा योगदान बढाउन सकिन्छ । (खरेलसँग सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीमा आधारित ।)