हेटौँडाः हेटौँडा–८, कमानेमा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक नेपाल खेलकुद महासंघ ८ नम्बर वडा कमिटीले जितेको छ । शनिबार चन्द्रोदय माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा ९ नम्बर वडा टिमलाई ५ विकेटले पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।
उपाधिसँगै आयोजक टिमले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता ९ नम्बर वडाले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
टस जितेर आयोजक टिमले ब्याटिङको निम्तो दिएपछि हेटौँडा–९ ले ९ विकेटको क्षतिमा १५२ रन जोडेको थियो । ९ नम्बर वडाका लागि क्याप्टेन युविन बुढाथोकीले अविजित ९२ रन जोडे । ओपनिङ ब्याट्सम्यानको रुपमा ६७ बलको सामना गर्दै युविनको उत्कृष्ट प्रदर्शनका बावजुद ९ नम्बर पराजित भएको हो ।
१५३ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रिएको आयोजक खेलकुद महासंघले ११ ओभर ५ बलमा लक्ष्य भेट्टायो । आयोजक टिमका लागि रमेश उपाध्यायले ३४ बलको सामना गरी अविजित रहँदै ७४ रन बनाए । आयोजक टिमका लागि सागर थापाले १० बलमा ४६ रन जोडे ।