बरामद अवैध सामानको लगत तयारी गर्दै प्रहरी ।

हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट अवैध सामानसहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको डब्लु बी ४९ एन २१७८ नम्बरको भारतीय यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्दा अवैध सामान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

आइतबार बेलुका ७ बजेर ३० मिनेटको समयमा विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त बसबाट १३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको जनाएको छ । प्रहरीले बसचालक भारत पश्चिम बंगालका ३१ वर्षीय सदाम खान, अर्का चालक पश्चिम बंगालका ३८ वर्षीय काली मुडी र सहचालक ३० वर्षीय जयदेव हेमरामलाई सुरक्षाजाँच गर्दा उनीहरुको साथबाट अवैध सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको शरीर तथा उक्त बस समेतको खानतलासी गर्दा सो बसको विभिन्न भित्री भागमा फल्स बटम ल्याएको अवस्थामा सामान बरामद गरेको थियो । प्रहरीका अनुसार बरामद गरिएको समान र बससहित ३ जना भारतीय नागरिकलाई थप अनुसन्धान तथा कारवाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।