हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा शुक्रबार तेस्रो वृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ को व्यवस्थापनमा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रमसँगै शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शनी, गायन तथा नृत्य प्रतियोगिता भएको हो ।

हेटौंडा–४ मा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले निर्माण गरेको विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र गणित विषयको शैक्षिक सामग्री प्रदर्शन गरिएको । प्रदर्शनीको विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीलगायतले अवलोकन गरेका थिए । बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रममा विजयी विद्यालय, शिक्षक तथा विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको सभाध्यक्षतामा कार्यक्रम गरिएको हो ।

शैक्षिक सामग्री प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रममा वडाभित्रको रोज एकेडेमी, भूटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, नवोदय शिशु सदन, व्रह्मदिक् एकेडेमी, सत्यम् जेभियर्स मावि, श्रमिक मावि र आमसाई स्कूलको सहभागिता थियो । सामाजिक विषयको शैक्षिक सामग्री प्रदर्शनीमा आधुनिक राष्ट्रिय मावि प्रथम, भूटनदेवी मावि द्वितीय र ब्रह्मदिक् एकेडेमी तृतीय भएका छन् । गणित विषयको सामग्री प्रदर्शनीमा भूटनदेवी मावि प्रथम, ब्रह्मदिक् एकेडेमी द्वितीय र आधुनिक राष्ट्रिय मावि तृतीय भएका छन् । यस्तै, विज्ञान विषयको सामग्री प्रदर्शनीमा आधुनिक राष्ट्रिय मावि प्रथम, भूटनदेवी मावि द्वितीय र नवोदय शिशु सदन तृतीय भएका छन् ।

विषयगत पाठ्यक्रममा निर्धारित सक्षमतामा आधारित भएर विद्यार्थीले निर्माण गरेको शैक्षिक सामग्री प्रदर्शनी गरिएको शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालले जानकारी दिनुभयो । स्थानीय र न्यून मूल्यका सामग्री प्रयोग गरेर निर्माण गरिएको शैक्षिक सामग्रीलाई मूल्यांकनमा प्राथमिकता दिइएको अध्यक्ष दहालले बताउनुभयो ।

कार्यक्रममा एकल गायनतर्फ श्रमिक माविकी अनिताकुमारी रौनियार प्रथम, ब्रह्मदिक एकेडेमीका दिब्सन कार्की द्वितीय र आधुनिक राष्ट्रिय माविका रञ्जिता सुनार तृतीय भएका छन् । यस्तै, नृत्य प्रतियोगितामा नवोदय शिशु सदन प्रथम, ब्रह्मदिक् एकेडेमी द्वितीय र श्रमिक मावि तृतीय भएका छन् ।

विज्ञान, गणित र सामाजिक विषयको शैक्षिक सामग्री प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको समूहले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विषयगत प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका शिक्षकले पनि क्रमशः ३ हजार, २ हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयको समूहले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयको नृत्य प्रशिक्षकले क्रमशः ३ हजार, २ हजार र एक हजार रुपैयाँ प्राप्त गरेका छन् । एकल गायन प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।