शिविरको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । बिहीबार शाखा कार्यालय हेटौंडाको आयोजना तथा कर्मचारी मिलन केन्द्र मकवानपुरको समन्वय र चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा सञ्चयकर्ता कर्मचारी र उनीहरूका परिवारका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

शिविरमा जनरल फिजिसियन सेवा, प्रेसर, सुगर, दम, रुघाखोकी, पेट, छाति, मुटुरोगको परीक्षण तथा परामर्श सेवा र निःशुल्क सुगर जाँच गरिएको थियो । शिविरको उद्घाटन जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले गर्नु भएको थियो । उहाँले यस्ता निःशुल्क स्वास्थ्य शिविरहरुले कर्मचारीको स्वास्थ्य अवस्थालाई परोक्षरुपमा जाँच गरी स्वस्थ राख्न मद्दत पु¥याउने बताउनुभयो । उहाँले कोषको यस प्रकारको पहलले कर्मचारीहरुको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रममा कर्मचारी सञ्चय कोष हेटौंडा शाखाका कार्यालय प्रमुख डा. दिलिपराज पौडेलले कर्मचारी सञ्चय कोषले विगत ६२ वर्षदेखि देशको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । आजसम्म आइपुग्दा कोषले लाखौँ कर्मचारीहरुको भविष्य सुरक्षित गर्न सफल भएको भन्दै सञ्चयकर्ताहरुलाई आर्थिक सुरक्षा र सामाजिक सुरक्षामा काम गरेको बताउनु भयो ।

उहाँले आफ्ना सञ्चयकर्ताहरुको स्वास्थ्यको ख्याल राख्न कोष सदैव प्रतिबद्ध रहेको भन्दै स्वास्थ्य शिविरमार्फत् सञ्चयकर्ताहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नुका साथै सामाजिक सुरक्षातर्फ विशेष सुविधा उपलब्ध गराएको जानकारी दिनुभयो । कोषले सञ्चयकर्ता र निजको दम्पत्तिका लागि तोकेका अस्पतालमा उपचार गराई रितपूर्वकको निवेदन दिई कोषको नियमानुसार साधारण उपचार खर्चतर्फ १ लाख र दीर्घकालीन रोगतर्फ १० लाख रुपैयाँसम्म सहयोग गर्ने कार्यक्रम रहेकोसमेत जानकारी गराउनु भयो ।

कोषको शाखा कार्यालय हेटौंडाकी उपप्रबन्धक निमा डोमा शेर्पाले स्वास्थ्य शिविरमा सञ्चयकर्ताहरुले आफ्नो स्वास्थ्य जाँच गराउँदै निःशुल्क परामर्श र अन्य स्वास्थ्यसम्बन्धी सेवाहरु प्राप्त गरेको बताउनुभयो । स्वास्थ्य परीक्षण गर्ने क्रममा रक्तचाप, मधुमेह र अन्य सामान्य स्वास्थ्य जाँचका सेवाहरु प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

कर्मचारी सञ्चय कोषको सामाजिक सुरक्षा र स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने प्रयासलाई अझै व्यापक बनाउँदै यस प्रकारका कार्यक्रमले कर्मचारीहरुमा सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने आशा गरिएको उहाँको भनाइ छ ।