Home मुख्य समाचार नेपाली माटोमा सुन फलाउन सकिन्छः मन्त्री काफ्ले

नेपाली माटोमा सुन फलाउन सकिन्छः मन्त्री काफ्ले

हेटौंडाः बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नेपाली माटोमा सुन फलाउन सकिने बताउनु भएको छ । उहाँले नेपालमा अवसर नभएको भन्दै नेपालीहरुलाई विदेश पलायन गराउन राज्य नै घोषित अघोषितरुपमा लागिरहेको पनि बताउनुभयो ।

बिहीबार हेटौंडा–७ स्थित सि आशा फाउन्डेसन भवनको दोश्रो तल्ला उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले यस्तो बताउनुभएको हो । सो अवसरमा उहाँले २० वर्षको कलिलो उमेरमा स्पेनबाट नेपाल आएर फरक क्षमता भएका बालबालिकाहरुको शिक्षादिक्षामा समर्पित आएना बार्का न्यौपानेको प्रशंसा गर्नुभयो । स्पेनजस्तो देशबाट नेपालमा सम्भावना देखेर हिम्मतका साथ काम गर्नु हाम्रा लागि सामाजिक र नैतिक शिक्षा नै भएको उहाँको भनाइ छ ।

आएना हेटौंडा–७ स्थित हरियाली टोलमा सञ्चालित सि आशा फाउन्डेसन विशेष पाठाशालाकी संस्थापक सञ्चालक हुनुहुन्छ । आएनाले २०६९ सालदेखि हरियाली टोलमा संस्था स्थापना गरेर बौद्धिक (सिपी, डाउन सिन्ड्रोमलगायतका समस्या भएका) अपांगता भएका बालबालिकाहरुलाई शिक्षाको अवसर दिलाइरहनु भएको छ ।

पाठशालामा हाल ८० जनाभन्दा बढी फरक क्षमताका बालबालिकाहरु अध्ययन गरिरहेको आएनाले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले सामान्य बालबालिकाजस्तै फरक क्षमताका बालबालिकाहरु पनि विद्यालय जान पाउनुपर्छ भन्ने लागेर आफूले फाउन्डेसन स्थापना गरी बालबालिका पढाइरेको बताउनुभयो ।

Exit mobile version